टाटाका सफल दुई एसयूभी अब पेट्रोल इन्जिनमा, तीन सातापछि लन्च हुँदै

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका सफल एसयूभीहरू अब पेट्रोल इन्जिनमा पनि आउने भएको छ ।

टाटाले सफारी र ह्यारियर एसयूभी अब पेट्रोल इन्जिनमा बजारमा ल्याउने भएको हो । हाल सफारी डिजेल इन्जिन र ह्यारियरको डिजेल र ईभी भेरियन्ट बिक्री गर्दै आएको छ ।

टाटाले यी दुवै एसयूभी आगामी डिसेम्बर ९ तारिकमा सार्वजनिक गर्ने भएको हो । टाटाले यी दुवै एसयूभी हाल प्रयोग भइरहेको इन्जिनभन्दा ठूलो क्षमतामा ल्याउने भएको हो ।

यसअघि टाटा मोटर्ससँग १.२ लिटरसम्मको मात्र पेट्रोल इन्जिन रहेकोमा अब सफारी र ह्यारियर १ं.५ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याउने भएको हो । टाटाले यो इन्जिन सन् २०२३ को अटो एक्स्पोमा अनभिल गरेको थियो ।

टाटाले बनाएको नयाँ इन्जिन हाइपेरियन सिरिजको इन्जिन हो । यसमा ४ सिलिण्डरको डाइरेक्ट इन्जेक्सन सेटअप रहेको छ । टाटा मोटर्सले ५ वर्ष लगाएर विकास गरेको यो इन्जिनले १७० पीएस पावर र २८० न्युटन मीटरको टर्क जेनेरेट गर्छ । टाटाको यो नयाँ इन्जिनसँग म्यानुअल र अटोमेटिक दुवै ट्रास्मिसनको प्रयोग गर्न सकिने छ ।

टाटाले यो इन्जिन ह्यारियर र सफारीमा प्रयोग गर्नु पहिलेनै १.५ लिटरको टर्बो पेट्रोल इन्जिन अल न्यू सियरामा प्रयोग गर्नेछ । टाटाको सियरा यही नोभेम्बर २५ मा लन्च हुँदैछ । सियरामा १.५ लिटरको नेचुरल एस्पिरेटेड इन्जिनमा समेत प्रयोग हुनेछ ।

टाटाको ह्यारियर र सफारी डिजेल इन्जिनमा मात्र उपलब्ध हुँदा बिक्रीमा गिरावट आइरहेको थियो । अब पेट्रोल भर्सनमा पनि आउने भएपछि व्यापार बढ्ने आशा गरिएको छ ।


Back_to_top