भारतमा सवार्धिक बिक्री हुने मोटरसाइकल कम्पनी हिरो मोटोकर्प हो । भारतकै मोटरसाइकल कम्पनी हिरोले २०१९ को मार्चमा ५ लाख ५३ हजार ३ सय २ वटा मोटरसाइकल बिक्री गरेको थियो । गत वर्षको सोही अवधिमा हिरोले भारतमा ७ लाख ४ हजार ८ सय ७४ वटा मोटरसाइकल बिक्री गरेको तथ्यांक छ ।
२०१८ को मार्चको तुलनामा २०१९ मार्चमा भारतको समग्र दुईपांग्रे सवारीको बिक्री घटेको छ । गत वर्षको मार्चमा समग्रमा १७ लाख ४१ हजार ६ सय ४९ वटा दुईपांग्रे सवारी विकेकोमा यो वर्ष १४ लाख ४० हजार ६ सय ५१ वटा मात्र बिक्री भएको छ । यो गत वर्षको तुलनामा १७ प्रतिशतले कमी हो ।
मार्चमा दुईपांग्रे सवारी बिक्रीमा दोस्रो टीभीएस भएको छ । २०१९ मार्चमा टीभीएसले भारतमा २ लाख ४७ हजार ७ सय १० वटा दुईपांग्रे बिक्री गरेको छ । गत वर्ष टीभीएसले २ लाख ६५ हजार १ सय ६६ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो ।
होन्डाको मोटरसाइकल तथा स्कुटर बिक्री २०१८ को मार्चको तुलनामा यो वर्ष ४६.७ प्रतिशतले गिरावट आएको छ । ०१८ मार्चमा ४ लाख १७ हजार ३ सय ८० वटा मोटरसाइकल तथा स्कुटर बेचेको होन्डा यो वर्षको मार्चमा २ लाख २२ हजार ३ सय २५ वटामा सिमित भएको छ ।
बजाजको मोटरसाइकल बिक्री भने बढेको छ । २०१८ मार्चमा १ लाख ५८ हजार ९ सय ८७ वटा मोटरसाइकल बिक्री गरेको बजाजले यो वर्ष मार्चमा २ लाख २० हजार २ सय १३ यूनिट बिक्री गरेको छ । त्यस्तै पाँचौं स्थानमा रहेको यामाहाले गत वर्ष ६५ हजार ९ सय २० वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेकोमा यो वर्षको मार्चमा ७१ हजार ६ सय ७६ वटा बेचेको छ ।
सुजुकीले २०१८ को मार्चमा ४६ हजार ८ सय ४८ वटा मोटरसाइल तथा स्कुटर बेचेको थियो भने यो वर्षको सोही अवधिमा ५८ हजार ६ सय ९६ वटा बिक्री गरेको छ । रोयल इनफिल्डको मोटरसाइकल बिक्री पनि गत वर्षको तुलनामा कमी आएको छ । ०१८ मार्चमा रोयल इनफिल्डले ७४ हजार २ सय ९ वटा मोटरसाइकल बिक्री गरेकोमा यो वर्षको मार्चमा ५८ हजार ४ सय ३४ वटामा सिमित भएको छ ।
पियाजियोले ०१८ मार्चमा ६ हजार ६ सय ८८ वटा मोटरसाइकल स्कुटर बिक्री गरेकोमा यो वर्षको मार्चमा ६ हजार २ सय २१ वटा बेचेको तथ्यांक छ । त्यस्तै कावासाकीले ०१९ मार्चमा ४ सय ६७ वटा मोटरसाइकल बेचेकोमा गत वर्षको सोही अवधिमा २ सय ९९ वटामात्र बिक्री गरेको थियो ।
महिन्द्रा टू ह्वीलर्सको बिक्री ०१८ मार्चमा ६ सय ९० वटा रहेकोमा यो वर्षको मार्चमा २ सय ३७ वटामा सिमित भएको छ ।


