काठमाडौं । सुरक्षण मुद्रण केन्द्रमा पहिलो चरणमा छाप्न लागिएका १२ लाख सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) मध्ये अधिकांशको म्याद ५ वर्ष (राजस्व तिरेको मितिदेखि) मात्रै हुने भएको छ ।
४ महिना अघि ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ संशोधन गर्दै लाइसेन्सको अवधि १० वर्ष बनाइए पनि अहिले छाप्न लागिएका लाइसेन्सको वास्तविक म्याद भने ५ वर्षभन्दा पनि कम हुने भएको हो ।
गत असार २९ गते प्रतिनिधि सभाले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ सहित एकैपटक ७९ ऐन संशोधन गर्न बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,’ पारित गर्दै लाइसेन्सको अवधि र नवीकरण गर्ने मिति १० वर्ष बनाएको थियो । संसदबाट पारित उक्त व्यवस्था २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयमा आएको थियो ।
तर, अहिले मुद्रण केन्द्रबाट छपाइ गर्न लागिएका १२ लाख थान मध्ये अधिकांश लाइसेन्स ब्याकलक (साउन १४ गतेअघि आवेदन दिएका) रहेकाले ५ वर्षभन्दा कम अवधिको हुने भएको हो । अहिले छापिने लाइसेन्सको कुल म्याद ५ वर्षकै हुनेछ । तर, त्यो म्याद ट्रायल पास वा नवीकरणको राजस्व तिरको दिनदेखि गणना हुन्छ । त्यस आधारमा हिसाब गर्दा अब छापिएर हात पर्ने लाइसेन्सको वास्तविक म्याद भने २/३ वर्ष मात्र हुने देखिन्छ । किनभने अहिले छाप्न लागिएका लाइसेन्स सन् २०२२ देखि यता आवेदन दिएकाहरू छन् । त्यसयता ३ वर्ष बितिसकेकाले हात पर्ने नयाँ लाइसेन्स अब फेरि २/३ वर्षमै नवीकरण गर्नुपर्ने हुन्छ ।
यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले २०८२ साउन १४ गतेदेखि ट्रायाल पास भएका र नवीकरणका लागि आवेदन दिएकाहरूको लाइसेन्स मात्रै १० वर्षे अवधिको हुने बताए । सोभन्दा अगाडि नयाँ तथा नवीकरणका लागि आवेदन दिएका सबै लाइसेन्सको अवधि ५ वर्ष हुने उनले बताए ।

उनका अनुसार अहिले मुद्रण केन्द्रमा पहिलो चरणमा छाप्न लागिएका १२ लाख लाइसेन्स गत साउन १४ गते अगाडि आवेदन दिएका छन् ।
‘पहिला लाइसेन्सको म्याद ५ वर्ष थियो । केही नेपाल ऐन संशोधन गर्दै लाइसेन्सको म्याद १० वर्ष बनाइएको छ । उक्त व्यवस्था २०८२ साउन १४ गतेदेखि मात्रै लागू भएको हो,’ उनले मेरोअटोसँग भने, ‘त्यसैले ब्याकलक सबै लाइसेन्सको म्याद ५ वर्ष हुन्छ । अहिले छाप्न लागिएका अधिकांश लाइसेन्स तिनै हुन् ।’
साउन १४ गतेदेखि ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएकाहरूको लाइसेन्स भने १० वर्षकै छापिने उनले बताए । अहिले दैनिक इमरजेन्सी रूपमा छापिने लाइसेन्सको म्याद पनि १० वर्षकै रहेको उनले बताए ।
विभागका अनुसार अहिले २५ लाख थान बढी लाइसेन्स छाप्न बाँकी छ । तीमध्ये मुद्रण केन्द्रले पहिलो चरणमा ६ महिना भित्र (चैत भित्र) १२ लाख लाइसेन्स छाप्नेछ । सम्झौता अनुसार केन्द्रले कात्तिक २१ गते क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरू गरिसकेको छ ।
विभागले लाइसेन्सका डाटा उपलब्ध गराउन नसकेकाले ठूलो मात्रमा छपाइ हुन सकेको छैन । केन्द्रमा डाटा पठाउने सफ्टवेयर निर्माणका लागि टेन्डर आह्वानको तयारी भइरहेको निर्देशक खतिवडाले बताए । डेढ/दुई महिना भित्रै सफ्टवेयर निर्माण सकी डाटा पठाइने उनले बताए । केन्द्रले दैनिक २०/२५ हजार लाइसेन्स छाप्न सक्ने भएकाले ६ महिना भित्रै १२ लाख लाइसेन्स छापिसकिने उनको भनाइ छ ।
बजेट अभावका कारण बाँकी १३ लाख लाइसेन्स छपाइको टुंगो लाग्न सकेको छैन । थप बजेट माग गरी चालु आव भित्रै सबै लाइसेन्स छपाइसकिने विभागले जनाएको छ ।
विभागले समयमै लाइसेन्स उपलब्ध गराउन नसक्दा विगत ४ वर्षदेखि ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका चालकहरू ‘चिर्कटो’को भरमा हिँडेका छन् ।

