डोङफेङ नामीले नेपाल ल्यायो अर्को नयाँ कार

काठमाडौं । डोङफेङ नामीको पहिलो सेडान कार नेपाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा ‘डोङफेङ-००७’ नामबाट उपलब्ध सेडान कार एमएडब्लू वृद्धिले नेपाल ल्याएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्योर इलेक्ट्रीक र आरईभी हाइब्रिडमा उपलब्ध ००७ मोडल नेपाली बजारमा भने प्योर ब्याट्री इलेक्ट्रीकमा आएको हो । डोङफेङको ‘क्वाटम आर्किटेक्चर नम्बर ३ प्लेटफर्म’मा बनेको सेडान निकै लग्जरी देखिएको छ ।

यसको लम्बाइ ४८८० एमएम, चौडाइ १८९५ एमएम र उचाइ १४६० एमएम छ । यसमा २९१५ एमएम लामो ह्वीलबेस दिइएको छ । डोङफेङ नामी ००७ को ड्रायग कोफिसियन्ट केबल ०.२०९ मात्रै छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा उपलब्ध ००७ मोडल नेपाली बजारमा एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध भएको हो । चीनमा ५६.८३ र ७०.२६ किलोवाट आवरको ब्याट्रीमा छ । नेपालमा भने ५१.३८ किलोवाट आवरको ब्याट्रीमा आएको हो । मोटर पावर पनि नेपालमा १०० किलोवाटमै उपलब्ध हुनेछ ।यसले एकपटकको फूलचार्जमा ३०० किमी हाराहारी रेन्ज दिने कम्पनीको दाबी छ ।

निकै लग्जरी देखिने सेडान कारमा ठूलो पानारोमिक ग्लास रुफको प्रयोग भएको छ । पृथक डिजाइनको स्टेरिङ ह्वील, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले, १५.६ इन्चको विशाल इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस मोबाइल चार्जर, २० स्पीकर उपलब्ध डोङफेङ ००७ सेडान निकै आकर्षक छ ।

यसको एक्सटेरियर पनि निकै सार्प छ । फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, एक्टीभ रियर स्पोइलर, १९ इन्चको अलोय ह्वील, सबै लाइट एलइडी प्रयोग भएको छ ।

कम्पनीका अनुसार यसमा ६ एयरब्याग, एडास लेभल टु फिचर, ३६० डिग्री क्यामेरा, लग्जरी र आरामदायी सिट उपलब्ध छ । यसको मूल्य लगायका विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

अहिले दुई युनिट कार ल्याएर एमएडब्लू वृद्धिले हाम्रो सडक कन्डिसनमा परीक्षण गरिरहेको छ । कहिलेबाट आधिकारीक बिक्री सुरू हुन्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

नामी ब्राण्डमा यसअघि नामी-०१ ह्याचब्याक कार र नामी-०६ (भिगो) एसयूभी बिक्री हुँदै आएको छ । नामी-०१ ह्याचब्याक कारले त राम्रो बजार समेत पाइसकेको छ ।


Back_to_top