काठमाडौं । जापानी अटोमोबाइल जाइन्ट टोयोटाले आफ्नो सर्वाधिक सफल पीकअप हाइलक्सको इलेक्ट्रीक भर्सन सार्वजनिक गरिसकेको छ । कम्पनीले राइट ह्याण्ड ड्राइभ मार्केटको लागि पनि हाइलक्स तयार पारेको हो ।
टोयोटाले खासगरी जापान, अष्ट्रेलिया, बेलायत, थाइल्याण्ड, भारत जस्ता देशलाई ध्यानमा राखेर टोयोटाले राइट ह्याण्ड ड्राइभ मोडल विकास गर्ने गर्छ । नेपालमा पनि यिनै देशमा बिक्री हुने मोडल आउने गर्छ ।
टोयोटाको बहुचर्चित मोडल हाइलक्सको युरोपियन स्पेकमा ५९.२ किलोवाट आवरको एलएफपी ब्याट्री रहनेछ । गाडीको क्षमता अनुसारको पूरै लोड बोकेर चलाउँदा यसले २४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टको रिपोर्टमा उल्लेख छ ।
युरोपको लागि तयार पारिएको हाइलक्सको ब्याट्री इलेक्ट्रीक भर्सन अल ह्वील ड्राइभ सिस्टममा आउने छ । यसको पर्मानेन्ट अल ह्वील ड्राइभ मोटरले संयुक्त पावर २०० किलोवाट प्रदान गर्छ । हाइलक्स ईभीको पेलोड क्षमता ७१५ किलोग्राम र तान्न सक्ने क्षमता १६०० केजी छ ।

जापानी अटोमोबाइल कम्पनीले ४८ भोल्टको माइल्ड हाइब्रिड डिजेड भर्सन समेत हाइलक्सको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउनेछ । हाइब्रिड मोडलमा २.८ लिटर क्षमताको डिजेल इन्जिन र ४८ भोल्ट हाइब्रिड सिस्टम हुनेछ । यसको पर्फमेन्स र फ्युल इफिसियन्सी राम्रो हुनेछ ।
बडि अन फ्रेम कन्ट्रक्सन फिचर रहेको हाइलक्सको ब्याट्री इलेक्ट्रीक भर्सनको ‘वाटर वेडीङ क्यापासीटी’ डिजेल मोडल सरह भएकाले ब्याट्रीलाई पानीबाट जोगाउन विशेष व्यवस्था गरिएको छ ।
हाइलक्सको ईभी भेरियन्ट अष्ट्रेलियामा सन् २०२६ को पहिलो क्वाटरमा सार्वजनिक हुने बताइएको छ । त्यसको लगत्तै युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपाली बजारमा पनि यसलाई उपलब्ध गराउने अनुमान गरिएको छ ।
जापानी निर्माताले हाइलक्सको हाइड्रोजन फ्युल सेल मोडल पनि ल्याउने जनाएको छ । हाइड्रोजनबाट चल्ने हाइलक्सको लागि भने सन् २०२८ सम्म कुर्नु पर्ने हुन्छ ।

