काठमाडौं । एमजी (मोरिस ग्यारेज) ले आफ्नो लाइनअप कै सबैभन्दा कम मूल्यको ह्याचब्याक कार ल्याउने भएको छ । ‘एमजी टु’ नामबाट आउने नयाँ ह्याचब्याक कार फिचरको हिसाबले पनि लोडेड हुनेछ ।
कम मूल्यको कार बजारमा आफनो प्रभाव विस्तार गर्न एमजीले नयाँ ह्याचब्याक कार ल्याउन लागेको हो । यसलाई ढिलोमा १ वर्ष भित्र बजारमा ल्याउने गरी काम भइरहेको एमजी मोटर्सको भनाइ छ ।
‘सन् २०२७ को सुरूवातमै नयाँ कार बजारमा आउँछ । जुन मूल्यको हिसाबले पनि उत्कृष्ट र फिचरका हिसाबले पनि पर्फेक्ट मोडल हुनेछ,’ मोटर युकेका प्रोडक्ट एण्ड प्लानिङ हेड डेभिड एलिसनले भने ।
कम्प्याक्ट ह्याचब्याक साइजमा आउने एमजी टु कम्पनीले हालै अपग्रेड गरेको एमजी फोर बनेको मोडुलर स्केलेवल प्लेटफर्ममा नै बन्नेछ । एलएफपी केमेस्ट्रीको ब्याट्रीको साथ बजारमा आउने नयाँ ह्याचब्याक कारको विषयमा धेरै जानकारी बाहिर ल्याइएको छैन ।
प्रोडक्ट एण्ड प्लानिङ हेड एलिसनका अनुसार नयाँ ह्याचब्याक कारको रेन्ज २५० देखि ३५० किलोमिटरसम्म हुनेछ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले रहनेछ ।
बेलायत साना र सस्ता कारको लागि निकै परिचित बजार हो । त्यसैले रेनोको टुइङ्गो, फक्सवागेनको आईडी १ र सिट्रोनको ईसीथ्रीसँग सिधा प्रतिस्पर्धा गर्ने गरी यसलाई बजारमा उतार्न लागेको अनुमान गर्न सकिन्छ ।

