काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादकहरूले आफ्ना विद्युतीय कारमा अनौठा फिचरहरू दिन थालेको छन् । एसएआइसी ग्रुपको न्यू इनर्जी भेहिकल ब्राण्ड आइएम मोटर्सले आफ्नो पछिल्लो एसयूभी एलएस नाइनमा दिएको शाओर र हिटेड फ्लोर अहिले चर्चामा छ ।
आइएम मोटर्स लग्जरी ब्राण्डको रूपमा चीनमा स्थापित हुँदै गएको छ । नेपालमा पनि आइएमको एउटा मोडल उपलब्ध छ । आइएम सिक्स अहिले नेपालमा बिक्री हुँदै आएको छ । यसको विभिन्न फिचर हाम्रो बजारमा पनि चर्चा पाउन सफल भइरहेको छ ।
कम्पनीले एलएस नाइन मोडलमा ग्राफाइट बेसको अन्डरफ्लोर हिटिङ सिस्टम दिएको छ । शाओरको लागि १० लिटरको वाटर ट्याङ्क राखिएको छ । जहाँ शाओर र कर्टेन शाओरको सुविधा उपलब्ध छ ।
अनौठा सुविधा कारमा प्रदान गरेसँगै कम्पनीले एलएस नाइनलाई परम्परागत अटोमोटिभ डिजाइनभन्दा फरक दिशामा लगिएको दाबी गर्छ । तर, अटो पण्डितहरूले केबल १० लिटर पानीले फुल शाओर लिन नसकिने बताएका छन् ।

उनीहरूका अनुसार बाथरुम स्टाइलको कर्टेनले भेहिकलको डिजाइनलाई कम्प्लीकेटेड बनाउने छ । फलस्वरूप गाडीमा स्पेशको कमी हुने र इनर्जी खपत पनि धेरै गर्ने बताएका छन् ।
यसको विरोधसँगै सपोर्ट गर्नेहरू पनि खुलेरै बोलेका छन् । उीनहरूको भनाइमा ठूलो एसयूभी भएपछि मानिसहरू लामो यात्रा गर्न समूहमा निस्कन सक्छन् । यसमा प्रयोग भएको अन्डरफ्लोर हिटिङ र नुहाउने सुविधाले गाडीलाई एक घरको रूपमा परिकल्पना गरेको उनीहरूको दाबी छ ।
आइएम मोटर्सको फ्ल्यागसिप एसयूभी एलएस नाइन एक ६ सिट क्षमताको एसयूभी हो । इआरईभी पावरट्रेनमा उपलब्ध एसयूभीमा ६६ किलोवाट आवरको ब्याट्रीप्याक र १.५ लिटरको पेट्रोल इन्जिन दिएको छ । यसको प्योर इलेक्ट्रीक रेन्ज नै ४०२ किलोमिटर र संयुक्त रेन्ज १ हजार ५०८ किलोमिटर हुनेछ ।


