काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले झण्डै ६९ करोड रुपैयाँ बीमा दाबी भुक्तानी पाएका छन् ।
आन्दोलनबाट २२९० निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ४७ करोड ७ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो ।
सोमध्ये कात्तिक २४ गतेसम्म ६८ करोड ६१ लाख ४९ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
आन्दोलनका क्रममा हजारौं निजी तथा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरिएको थियो । जसमा सरकारी सवारी साधनको बीमा नै नगरिएकाले दाबी परेको छैन । त्यस्तै, निजीतर्फ पनि क्षति पुगेका केही सवारी साधनको बीमा नभएको पाइएको छ ।
कम्प्रिहेन्सिभ मोटर बीमा गरेकाहरूले मात्रै सवारी साधन क्षति भए बापत क्षतिपूर्ति पाउँछन् ।
प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब ४६ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ ।
१४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार २४६ दाबी परेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै १९ अर्ब ४ करोड रुपैयाँ बराबरको ६९३ वटा सम्पत्ति बीमा दाबी परेको छ ।
त्यस्तै, ५४ करोड ७५ लाख रुपैयाँ बराबरको २०९ वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ६८ लाख रुपैयाँ बराबरको १२ वटा परिवहन र ३९ करोड ३० लाख रुपैयाँ बराबरको ४२ वटा अन्य बीमा दाबी परेको छ ।

