काठमाडौं । बीएमडब्लूको सबैभन्दा सानो इन्जिन क्षमताको एफ ४५० जीएस मोटरसाइकलको उत्पादन सुरू भएको छ ।
भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएससँगको सहकार्यमा निर्माण भएको बीएमडब्लू एफ ४५० जीएसको बिक्री मोडलको उत्पादन सुरू भएको हो ।
एफ ४५० जीएस मोटरसाइकलको उत्पादन टीभीएसको होसुरस्थित प्लाण्टबाट सुरू भएको हो । कम्पनीले यो नयाँ मोटरसाइकलको बिक्री सन् २०२६ को पहिलो त्रैमासदेखि सुरू गर्ने रिपोर्ट आएको छ । साथै, केही समयअघि भारतमा यस मोटरसाइकलको अनौपचारिक रुपमा बुकिङ खुलाइएको थियो ।
नयाँ बीएमडब्लू एफ ४५० जीएस विश्वव्यापी बजारमा निर्यात गर्ने हिसाबले बनेको डबल पर्पस एड्भेन्चर मोटरसाइकल हो ।
टीभीएसको होसुर प्लाण्टमा बीएमडब्लू र टीभीएसको सहकार्यको सुरूवाती चरणमा जी ३१० र जीएस ३१० सिरिज उत्पादन गरिएको थियो । भारतमा यी दुवै मोडलको उत्पादन बन्द भएसँगै कम्पनीले नयाँ एफ ४५० जीएस मोटरसाइकल नयाँ प्लेटफर्ममा उत्पादन थालेको हो ।बीएमडब्लूको भारतमा उत्पादन भएका मोटरसाइकलहरु १०० भन्दा बढी देशहरुमा निर्यात हुन्छन् ।
यस्तो छ बीएमडब्लू ४५० जीएस
कम्पनीले विल्कुलै नयाँ प्लेटफर्ममा तयार पारेको डबल पर्पस एड्भेन्चर बीएमडब्लू एफ ४५० जीएसमा ४२० सीसीको नयाँ प्यारालल ट्विन सिलिण्डर, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ८ हजार ७५० आरपीएममा ४७.५ ब्रेकहर्स पावर र ६ हजार ७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्छ ।

यसको कुल तौल १७८ किलोग्राम छ भने १४ लिटरको इन्धन ट्याङ्कले करिब ३५० किलोमिटर यात्रा सम्भव बनाउने दाबी गरिएको छ ।
स्टिल ट्युबुलर फ्रेममा बनेको बीएमडब्लू एफ ४५० जीएस बीएमडब्लूको आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको छ ।
एफ ४५० जीएस बेसिक, एक्सक्लुसिभ, स्पोर्ट र जीएस ट्रफी गरी चार भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले मोटरसाइकलमा भेरियन्ट अनुसार केही फिचरहरू भने छुट्टाछुट्टै प्रयोग गरेको छ ।
यसको फ्रन्टमा केवाइबी अपसाइड डाउन यूएसडी फोर्क र रियरमा डाइरेट लिंक मोनोसक १८० एमएम ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले अनरोड र अफरोड दुवैमा यात्रा सहज बनाउने छ । यसको स्पोर्ट र जीएस ट्रफी भेरियन्टमा भने फोर्कलाई कम्प्रेसन र रिबाउण्ड एडजस्ट गर्ने सुविधा पनि दिएको छ ।
मोटरसायकलमा वायर क्रस स्पोक ह्वील अगाडि १९ इन्च र पछाडि १७ इन्च छ । ह्याण्ड गार्ड, इन्जिन गार्ड अफरोड पेग्स, ट्युबलेस टायर, दुवै टायरमा ब्रेम्बो फोर पिस्टन बाइब्रे क्यालिपर डिस्कब्रेक, स्ट्यान्डर्ड एबीएस प्रो, डाइनामिक ट्रयाक्सन कन्ट्रोल, इन्जिन ड्रयाग टर्क कन्ट्रोल, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टिपल अफरोड राइडमोडहरू जस्ता सुरक्षा फिचरहरू स्ट्याण्डर्ड रूपमा दिइएको छ । जसले अफरोडमा चलाउन सहज बनाउँछ ।
साथै, हिटेड ग्रिप्स एक्सिलेटर, पूरा एलईडी लाइटिङ सेटअप, डीआरएल पनि स्ट्याण्डर्ड किसिमका छन् । सिफ्ट एसिस्टेन्स क्विकशिफ्टर बेसिक बाहेक सबै भेरियन्टमा उपलब्ध छ । जीएस ट्रफी भेरियन्टमा भने स्वीच गर्न मिल्ने बीएमडब्लू इजी राइड क्लच र एड्भान्स कन्फिगर क्लच दिइएको छ ।
बीएमडब्लू एफ ४५० जीएसमा कनेक्टिभिटी सहितको ६.५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल छ । यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण डिटेल्स हेर्न सकिन्छ ।

