काठमाडौं । चिनियाँ न्यू इनर्जी कार ब्राण्ड बीवाइडीको लागि सिलायन सिक्स नयाँ गेमचेन्जर मोडल सावित हुँदै गएको छ । बजारमा आएदेखि नै यसले निकै राम्रो बिक्री पाउन सफल भएको हो ।
चिनियाँ बजारमा बिक्री सुरू भएदेखि नै सिलायन सिक्सको बिक्री मासिक औसतमा ३२ हजार युनिट भइरहेको छ । कम्पनीको ओसियन सिरिज अन्तर्गत उत्पादन भएको सिलायन सिक्स गत जुलाइको अन्तिम साता बजारमा आएको थियो ।
कम्पनीले सिलयान सिक्स अगस्ट २०२५ मा ३० हजार ४८३, सेप्टेम्बरमा ३० हजार ९०१, अक्टोबरमा ३३ हजार २०० र नोभेम्बरमा ३५ हजार ८१ युनिट होलसेल बिक्री गरेको हो ।
बीवाइडीले सिलायन सिक्सलाई डीएम-आई हाइब्रिड र प्योर इलेक्ट्रीक मोडलको रूपमा बिक्री गर्दै आएको छ । चीनमा हाइब्रिड मोडलको सुरूवाती मूल्य १९ हजार ५६० अमेरिकी डलर छ । प्योर ईभी मोडलको मूल्य भने २० हजार १०० डलरबाट सुरू गरिएको छ ।
नेपाली बजारमा हाइब्रिड मोडलमा खासै चासो देखिएको छैन । त्यसैले निकट भविस्यमा नै आधिकारिक बिक्रेता साइमेक्स इंकले प्योर ईभी मोडल नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । सम्भवतः आगामी अटो शोमा सिलायन सिक्सको नेपाली बजारमा डेब्यू हुनेछ ।

सिलायन सिक्सको ब्याट्री इलेक्ट्रीक मोडलमा दुई ब्याट्री अप्सन उपलब्ध छ । जसमा ६५.२८ र ७८.७२ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग भएको छ ।
नेपाली बजारमा बिक्री हुँदै आएको सिलायन सेभेनभन्दा केही सानो साइजमा सिलायन सिक्स तयार भएको छ । यसको लम्बाइ ४८१० एमएम, चौडाइ १९२० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलबेस दिइएको छ ।
बीवाइडीको ई-प्लेटफर्म ३.० इभो आर्किटेक्चरमा तयार भएको सिलायन सिक्स ४०० र ८०० भोल्ट दुवै सपोर्ट सिस्टम भएको क्रसओभर मोडल हो । सानो ब्याट्रीसँग १७० किलोवाट र ठूलो ब्याट्रीसँग १८० किलोवाटको मोटर जडान भएको सिलायन सिक्सको पिकटर्क भने ३३० न्युटन मिटर छ । यसमा रहेको ब्याट्रीलाई २३७ किलोवाटसम्मको डीसी चार्जरले चार्ज गर्न सकिन्छ ।

