काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले आफ्नो क्षेत्र हुँदै संचालन हुने मालवाहक सवारी टिपर संचालनमा नियमन गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सरोकारवालाको बैठकले चार बुँदे निर्णय गरेको हो ।
जिल्ला प्रशासनका अनुसार अब उप्रान्त खानी संचालक र टिपर व्यवसायीबाट आयोजनाका लागि निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवा लोड गर्दा ओभरलोड नगरी पानीसहितको निर्माण सामग्री ढुवानी नगर्ने/नगराउने व्यवस्था गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, निर्माण सामग्री ओसारपसार गर्ने सवारी पासअनुमति लिएका केही टिपरले सम्बन्धित आयोजनामा निर्माण सामग्री नलगी अन्यत्र समेत लैजाने गरेको पाइएकाले सम्बन्धित आयोजना प्रमुखले त्यस्तो दुरुपयोग नहुने व्यवस्था कडाइका साथ लागू गर्नुपर्नेछ ।
त्यसैगरी, निर्णय कार्यान्वयनार्थ निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका सम्बन्धमा टिपर व्यवसायी संघमार्फत सम्बन्धित टिपर धनीलाई जानकारी गराउने र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गर्ने/गराउने निर्णय भएको हो ।
त्यस्तै, टिपरलाई तोकिएका आयोजना बाहेकका निर्माण सामग्री ढुवानीका लागि काभ्रेमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै संचालन अनुमति दिने निर्णय गरिएको छ ।
चार बुँदे निर्णयमा निर्णयानुसारको व्यवस्था नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।

