काठमाडौं । नेपाली कार बजारमा मिनिकारको हिस्सा अति न्यून छ । सन् २०२५ मा (जनवरी डिसेम्बर १५ सम्म) कुल १४ हजार ५१८ युनिट कार आयात हुँदा मिनीकार ६०४ युनिट (ईभी र आइस) मात्रै आयात भएको छ । यो कुल आयातको ४.१६ प्रतिशत हो ।
कार बजारमा एसयूभी र ह्याचब्याकको दबदबा रहँदा मिनिकारले आफ्नो उपस्थिति बलियो बनाउन सकेको छैन । सहरी क्षेत्रका लागि उपयोगी देखिए पनि सानो साइज, मूल्य ह्याचब्याकभन्दा मूल्य थोरै मात्र कम हुनु लगायत कारणले मिनिकार धेरैको रोजाइ बन्न सकेको देखिँदैन ।
यद्यपि, आयात भने वर्षेनी बढ्दो छ । मिनिकारमा पनि विद्युतीयको बिक्री बढ्दो क्रममा छ । सन् २०२३ मा १५९ युनिट ईभी मिनिकार आयात भएकोमा २०२४ मा झण्डै दोब्बरले बढेर ३०६ युनिट पुगेको थियो । सन् २०२५ मा पनि बढेर ३५५ युनिट पुगेको छ ।
यहाँ हामीले सन् २०२५ को आयात तथ्यांकका आधारमा ईभी मिनिकारको चर्चा गरेका छौं ।
केई लिडर, पछ्याउँदै अरू
नेपाली बजारमा झण्डै १ दर्जन ब्राण्डका विद्युतीय मिनिकार उपलब्ध छन् । तीमध्ये चिनियाँ ब्राण्ड केई पहिलो रोजाइमा परेको देखिन्छ । अर्थात् मिनिकार बजारमा केई मार्केट लिडर बनेको छ ।
सन् २०२५ को साढे ११ महिनामा कुल ३६६ युनिट मिनिकार नेपाल आउँदा केई १४८ युनिट आयात भएको छ । कुल आयातमा केईको हिस्सा ४१.६९ प्रतिशत रहेको छ ।

केई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इमोबिलिटीले ई क्युट-०२ र ई क्युट ०४ गरी उक्त संख्यामा मिनिकार भित्र्याएको हो । केईका मिनिकारमा ३५ र ४० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसमा १७.६९ किलोवाट आवर र २८.०८ किलोवाट आवरकोे ब्याट्रीप्याक छ । यी कारले कारब्याट्री साइज अनुसार फुल चार्जमा २०० र ३०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
त्यस्तो, दोस्रो धेरै आयात हुने मिनिकारमा एमजी कोमेट रहेको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले सन् २०२५ मा ६३ युनिट कोमेट ईभी ल्याएको छ ।
कोमेटमा ३१.२६ किलोवाट क्षमताको मोटर छ । यसले ४२ हर्सपावर तथा ११० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
कोमेटलाई पछ्याउँदै हेनरी भोल्टस् तेस्रोमा रहेको छ । सन् २०२५ मा ४२ युनिट हेनरी भोल्टस् नेपाल आएको छ । ३५ किलोवाट क्षमताको मोटर रहेका हेनरी भोल्टस्मा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ३८.५४ किलोवाट आवरको ट्रनरी लिथियम ब्याट्री अप्सन पाउन सकिन्छ ।
ईभी मिनिकारको चौथो स्थानमा बीएडब्लू ब्रम्बी रहेको छ । सन् २०२५ मा एलआरआर ग्रुपले ३९ युनिट ब्रम्बी नेपाल ल्याएको छ । यसमा २५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिइएको छ भने १५.१२ किलोवाट आवरको ब्याट्री छ ।
यी बाहेक अन्य ब्राण्डका मिनिकारको आयत भने निकै कम संख्यामा छ । सन् २०२५ मा डीएफएसके ई ५०२ र जिनपेङको लिनबक्स समान २०र २० युनिट, विलिङ एयरईभी ४ युनिट र अन्य ब्राण्डका १९ युनिट मिनिकार आयात भएका छन् ।

