चाँदी र तामाको मूल्य बढाउँदै ब्याट्री, भूराजनीतिमा पार्दैछ असर

काठमाडौं । विश्वकै सबैभन्दा धेरै चाँदी र तामा उत्पादन गर्ने देशम चीन अग्रस्थानमा आउँछ । हाइभोल्टेज ब्याट्री उत्पादनमा पनि चीन नै अगाडि छ ।

पछिल्लो दुई वर्षमा चाँदीको मूल्य आकाशिँदै गएको छ । नेपालमा १० ग्राम चाँदीको मूल्य आजको दिनमा ४ हजार हाराहारी पुगेको छ । जबकि १० ग्राम चाँदीको मूल्य दुई वर्ष अगाडि केबल १ हजार रुपैयाँ हाराहारी मात्रै थियो । दुई वर्षमा नै तीन गुणाले चाँदीको मूल्य वृद्धि भएको हो ।

तामाको मूल्य पनि राम्रैसँग वृद्धि भएको देखिन्छ । दुई वर्ष अगाडि ८०० रुपैयाँ हाराहारी प्रतिकेजी रहेको तामा अहिले आएर १२०० रुपैयाँभन्दा माथि पुगेको छ । यी दुवै धातुको मूल्य वृद्धिमा सबैभन्दा बढी हाइभोल्टेज ब्याट्रीको भूमिका देखिएको हो ।

अर्थतन्त्रमा अस्वभाविक कमोडिटिजको मूल्य वृद्धिलाई धेरैले विश्व अर्थतन्त्रमा देखिन लागेको सुस्तता मान्न थालेका छन् । अहिले चीन र भारतको अर्थतन्त्रमा क्रमिक संकुचन देखिने अनुमान भइरहेको छ । नेपाल जस्ता कमजोर अर्थतन्त्रमा त्यसको प्रभाव नपर्ने कुरै भएन ।

चाँदी र तामा ब्याट्रीसँग प्रत्यक्ष सम्बन्ध राख्ने धातु हुन् । ब्याट्रीको अलावा रिन्युएबल इनर्जी सिस्टम, अन्य इलेक्ट्रोनिक्स वस्तुमा पनि यी सामाग्री व्यापक प्रयोग हुन्छ । त्यसैले यहाँ हामीले चाँदी र तामा जस्ता धातुको ब्याट्रीसँगको सम्बन्धका बारेमा चर्चा गरेका छौं ।

तामा (कप्पर)

पहिला कुरा गरौं तामाको । तामा विद्युतीय तारदेखि ब्याट्रीमा व्यापक प्रयोग हुन्छ । लिथियम आयन ब्याट्रीहरूमा तामाको प्रयोग एनोडको लागि करेन्ट कलेक्टरको रूपमा गरिन्छ । यसकै सहायताले ब्याट्री चार्जिङ र डिस्चार्जिङ हुन्छ ।

यस बाहेक विद्युतीय गाडीको वायरिङ, मोटर र अन्य धेरै कम्पोनेन्टमा तामा अत्यावश्यक धातु हो । सामान्य भाषामा भन्नुपर्दा एक मेगावाट ब्याट्रीमा २०० केजी तामा प्रयोग भएको हुन्छ ।

चाँदी (सिल्भर)

चाँदीलाई सबैभन्दा उच्च चालक धातु मानिन्छ । त्यसैले हाइभोल्टेज ब्याट्रीमा ‘बस बार’, इलेक्ट्रीकल कनेक्सन र कनेक्टरहरू उत्पादन गर्न चाँदीको प्रयोग हुन्छ ।

ब्याट्री निर्माताहरूले सिल्भरमा आधारित ब्याट्रीहरूको बनाउँदै आएका छन् । सिल्भर जिङ्क वा सिल्भर अक्साइड उच्च पावर प्रदान गर्न सक्षम छन् । सोलार प्यानलमा पनि इनर्जी स्टोरेज सिस्टम बनाउँदा चाँदीको प्रयोग भएको हुन्छ ।

चीन दुवैको ठूलो उत्पादक

तामा र चाँदी दुवै धातुको उत्पादनमा सबैभन्दा अगाडि चीन छ । चीनले भोलि जनवरी १, २०२६ बाट चाँदीको निर्यातमा कडाई गर्दैछ । अब निर्यात गर्ने कम्पनीले सरकारको अनुमति बेगर चाँदी निर्यात गर्न पाउने छैनन् ।

चीन सरकारले खनिज उत्खनन् र प्रशोधनमा आफ्नो प्रभुत्व कायम राख्न ‘राष्ट्रिय सुरक्षा’लाई देखाउँदै निर्यातमा कडाइ गर्न लागेको अनुमान लगाउन सकिन्छ । टेस्ला कम्पनीका सीईओ एलन मस्कले ईभीको इको सिस्टममा चाँदीको प्रभाव ठूलो पर्ने चेतावनी दिइसकेका छन् ।

तामाको पनि चीन ठूलो उत्पादक हो । अहिल्यै उसले तामाको निर्यातमा कुनै कठिनाइ उत्पन्न गराएको छैन । तर, अमेरिकी सरकारको चीनमा उत्पादन भएको तामा आयातमा थप कर लगाउने निर्णयको भने उसले डटेर सामना गरिरहेको देखिन्छ ।


Back_to_top