काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र धमाधम अत्याधुनिक सीसीटीभी क्यामरा जडान गर्न थालिएको छ । महानगरले यस सातामा मात्रै दुई वटामा १०६ वटा सीसीटीभी क्यामरा जडान गरी इन्ट्रानेटका माध्यमबाट निगरानी कक्ष संचालनमा ल्याएको हो ।
महानगरले वडा नम्बर ३० को महानगरीय प्रहरी वृत्त मालीगाउँ क्षेत्रमा २९ वटा सीसीटीभी क्यामरा जडान गरेको छ । त्यस्तै, वडा नम्बर २६ (बालाजु) क्षेत्रमा ७७ वटा क्यामरा जडान गरी फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्ष संचालनमा ल्याइएको थियो । फाइबर इन्ट्रानेटका लागि नेपाल टेलिकमसँगको सहकार्य गरिएको छ ।
त्यस्तै, वडा नम्बर ३२ र वडा नं. ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आह्वान भइसकेको छ ।
भूमिगत प्राइमरी नेटवर्कबाट प्रणाली चल्ने भएकोले सीसीटीभी बिग्रिने समस्या कम हुनेछ । विग्रको ठाउँ तत्काल पत्ता लाग्नेछ । यसबाट तत्काल मर्मत गर्न सकिनेछ । यी विशेषताका कारण विगतको तुलनामा अहिलेको प्रणाली दिगो र भरपर्दो छ ।
सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष)निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्रा एचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ ।
तथ्याङ्क र विवरण प्राप्त हुन्छन् । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको नोटिफिकेसन पुग्छ । कुनै स्थानमा अपराध भए अपराधीलाई तत्काल पक्राउ गर्न सकिन्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ भन्छन्, ‘विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सीसीटिभी क्यामरामा क्षति गरेको देखिन्छ । एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जोगाउनु पर्छ । यसका लागि काम गर्दैछौँ ।’
महानगरपालिकाभित्र विगतमा तारबाट क्यामराका दृश्य संकलन गर्ने गरिएको थियो । यसले सहरी सुन्दरतामा ह्रास गरेको त थियो नै । यससँगै तार चुँडियो भने प्रणाली नै नचल्ने अवस्थामा पुग्थ्यो । फाइबर सञ्जालमा प्रणाली जोडिएपछि दिगोपनाको स्तर बढ्दै गएको छ ।
वडा नम्बर ३० मा एउटा पीटीजेड र २८ वटा बुलेट क्यामरा जडान भएका छन् । वडासचिव देवराज जोशीका अनुसार ६९ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा ४३ लाख ९३ हजार रुपियाँ कबोल गर्ने बोलपत्रदाता नयाँ किरण अल नेपाल जेभीबाट काम गराइएको हो । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट २०८२ वैशाख २६ गते बोलपत्र आह्वान गरिएको थियो ।
छनोट भएको बोलपत्रदातालाई ९० दिनको कार्य अवधि दिएर कार्तिक १४ गते कार्यादेश दिइएको थियो । पुस ८ गते जडान कार्य सम्पन्न भएको हो । प्रणाली सञ्चालन अवसरमा बोलपत्रदाताले कार्य सम्पन्न प्रतिवेदन पेश गरेका थिए ।
अहिले जडान भएका क्यामराहरू एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ ।


