एक वर्षमा थपिए पौने ४ लाख सवारी, कुन प्रदेशमा कति ?

काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा पौने ४ लाख सवारी साधन दर्ता भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष कुल ३ लाख ७६ हजार ३९३ सवारी साधन दर्ता भएका हुन् ।

यो कार, जीप, भ्यान, बस, ट्रक, मोटरसाइक, स्कुटर लगायत सबै सवारी साधनको संख्या हो । आर्थिक वर्ष २०८०/८१को तुलनामा गत वर्ष सवारी साधन दर्ता ३७.८ प्रतिशतले भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्ष बागमती प्रदेशमा सबैभ्न्दा धेरै १ लाख ३५ हजार ८६६ सवारी साधन दर्ता भएका छन् । संघीय राजधानी काठमाडौं समेत रहेको बागमतीमा कुल सवारीमध्ये ३६.१ प्रतिशत सवारी दर्ता भएका हुन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा दोस्रो धेरै ८४ हजार ४६९ युनिट नयाँ सवारी दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यस प्रदेशमा सवारी दर्ता २२.४ प्रतिशतले बढेको हो ।

त्यसैगरी, गत वर्ष मधेशमा ६८ हजार २५९ वटा, कोशीमा ५१ हजार १३४ वटा, गण्डकीमा १७ हजार ९६७ वटा, सुदूरपश्चिममा १४ हजार ७२१ वटा सवारी दर्ता भएका छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा कम ३ हजार ९७७ सवारी साधन दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा कर्णालीमा सवारी दर्ता १.१ प्रतिशतले वृद्धि भएको छ ।


Back_to_top