काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी कियाले आफ्नो कम्प्याक्ट एसयूभी सेल्टोसको नयाँ जेनेरेशन भारतमा लन्च गरेको छ । कम्पनीले शुक्रबारदेखि भारतीय बजारमा न्यू जेनेरेसन सेल्टोसको आधिकारिक बिक्री सुरू गरेको हो ।
कम्पनीले न्यू जेन किया सेल्टोस विभिन्न ८ भेरियन्टमा उपलब्ध गराएको छ । जसमा सबैभन्दा तल्लो भेरियन्टको मूल्य १० लाख ९९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ । माथिल्लो भेरियन्ट जीटीएक्स/एक्स-लाइन (ए)को मूल्य १९ लाख ९९ हजार भारु तोकेर बिक्री सुरू गरेको हो ।
कियाले सेल्टोसको पहिलो मोडल सन् २०१९ मा ल्याएको थियो । दोस्रो पुस्ताको सेल्टोस पूर्ण रूपमा नयाँ प्लेटफर्ममा आधारित छ । यो ‘ग्लोबल केथ्री प्लेटफर्म’मा बनेको हो ।
साइजमा पनि अघिल्लो मोडेलभन्दा ठूलो छ । नयाँ सेल्टोसको लम्बाइ ४४६० एमएम, चौडाइ १८३० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६९० एमएम छ । नयाँ सेल्टोस पहिलाकोभन्दा लम्बाइमा ९५ एमएम, चौडाइमा ३० एमएम र ह्वीलबेसमा ८० एमएम धेरै ठूलो छ ।

३० इन्चको दुई कनेक्ट स्क्रीनसहित आएको सेल्टोस धेरै नयाँ फिचर थपिएर आएको हो । कियाले नयाँ सेल्टोस निकै ‘अग्रेसिभ’ देखिने एक्टेरियर र प्रिमियम इन्टेरियरमा ल्याएको छ । नयाँ सेल्टोसको ‘लुक्स रग्ड’ देखिएको छ । यसको एक्सटेरियरमा नयाँ डिजाइनको ग्रिल, हेडलाइट, बम्पर, फगलाइट र कनेक्टेड एलईडी टेललाइट देखिएको छ ।
कियाले यसमा फ्लस डोर ह्याण्डल, डाइनामिक वेलकम र गुडबाई एनिमेसन, ब्लाइण्ड भ्यू मनिटर, डिजिटल टाइगर फेस, १८ इन्चको डायमण्ड कट ड्युल टोन ह्वील प्रयोग गरेको छ ।
इन्टेरियरमा ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा सजिएको लेदरेट सिट, लम्बार सपोर्ट सहितको १० तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जर, बोसको ८ वटा स्पीकर पाउन सकिन्छ । त्यसैगरी ड्युल प्यानल पानारोमिक शनरुफ, प्रोक्सिमिटी बेसको स्मार्ट की, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो उपलब्ध छ ।

सुरक्षाको लागि कम्पनीले नयाँ सेल्टोसमा स्ट्याण्डर्ड ६ वटा एयरब्याग, ईसीएस, एबीएस, हिल स्टार्ट असिस्ट, रोल ओभर सेन्सर र रियर अकुपेन्ट अलर्ट, २८ अटोनोमस फिचर सहितको लेभल २ एडास फिचर दिएको छ । चालकको सहजताको लागि ३६० सराउण्ड भ्यू क्यामरा, चारै चक्कामा डिस ब्रेक, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।
कियाले नयाँ जेनेरेशन सेल्टोसमा इन्जिन भने पुरानै प्रयोग गरेको छ । नयाँ सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर टीजीडीआई टर्बो पेट्रोल र १.५ लिटर सीआरडीआई भीजीटी डिजेल इन्जिनमा उपलब्ध छ । यी इन्जिनहरूसँग ६ स्पीडको म्यानुअल र सीभीट, ७ स्पीडको डीसीटी, ६ स्पीडकै आईएमटी र ६ स्पीड टर्क कन्भर्टर गियर अप्सन छ ।

नयाँ सेल्टोसले हुन्डाई क्रेटा, फक्सवागन ताइगुन, स्कोडा कुशाक, मारुति ग्रान्ड भिटारा र भिक्टोरिस, टोयोटा हाइराइडर, टाटा सिएरा, होन्डा एलिभेट, एमजी एस्टर लगायतसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपालमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाका गाडी बिक्री गर्दै आएको छ । कम्पनीले पहिलो पुस्ताको सेल्टोस बिक्री गरिरहेकाले नयाँ जेनेरेसन पनि ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।

