९ दिनपछि बजारमा आउँदै फेसलिफ्ट टाटा पन्च, थपिदै नयाँ फिचर्स

काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी टाटाले आफ्नो सफल माइक्रो एसयूभी पन्चको फेसलिफ्ट ९ दिनपछि बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी १३ जनवरीको दिन यसलाई सार्वजनिक गर्न लागेको हो ।

टाटा मोटर्सले फेसलिफ्ट पन्चको टिजर सार्वजनिक गर्दै धेरै फिचर्सहरु थप गरेर ल्याउन लागेको जानकारी दिएको छ । कम्पनीले बाहिर ल्याएको तस्बिर अनुसार टाटाको ठूला एसयूभी ह्यारीयर र सफारी जस्तै झल्को दिने डिजाइन देख्न सकिन्छ ।

टाटाले पन्चको अगाडि र पछाडिको डिजाइनमा धेरै परिमार्जन गरेको छ । अगाडि निकै पातलो एलइर्डडी डे टाइम रनिङ लाइटको प्रयोग गरेको छ । अगाडि र पछाडि नै प्रयोग भएको बम्परलाई ‘रि-डिजाइन’ गरेको देख्न सकिन्छ ।

कम्पनीले आफ्नो इन्ट्री मोडल एसयूभीमा एडास २.० प्रयोग गरेको छ । पछाडिको लाइटबार, नयाँ डिजाइनको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम पनि थप गरेर बजारमा ल्याउन लागेको हो ।

पन्च ईभी नेपाली बजारमा निकै सफल मानिन्छ । कम्पनीले अहिले फेसलिफ्ट गर्न लागेको पेट्रोलियम पदार्थबाट चल्ने मोडल हो । यी धेरै फिचर पन्च ईभीमा पहिल्यै उपलब्ध छन् ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा पन्चको पेट्रोलियम पदार्थबाट चल्ने मोडल नेपालमा बिक्रीको लागि उपलब्ध गराएको छ । तर, पेट्रोल मोडलमा उपभोक्ताले खासै चासो नदेखाएसँगै कम्पनीको ध्यान ईभी मोडलमै केन्द्रित देखिन्छ ।

कम्पनीले फेसलिफ्ट पन्चको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन रहनेछ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स अप्सनमा उपलब्ध हुनेछ ।


Back_to_top