यी हुन् उपत्यकामा अत्यधिक सवारी दुर्घटना हुने २९ ‘ब्ल्याक स्पट’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा अत्यधिक सवारी दुर्घटना हुने स्थानहरूको सूची तयार पारेको छ ।

कार्यालयले पछिल्ला वर्षहरूमा हुने दुर्घटनाको दरलाई आधार मानेर अत्यधिक दुर्घटना हुने ठाउँहरूको पहिचान  गरेको हो ।

कार्यालयका अनुसार उपत्यकामा अत्यधिक दुर्घटना हुने स्थानहरूमा कोटेश्वर, बानेश्वर, गैरीगाउँ, काँडाघारी, कलंकी, सातदोबाटो, भक्तपुर, जावलाखेल, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गठ्ठाघर, बौद्ध मुख्य ठाउँहरू रहेका छन् । यी ठाउँहरूबाट जाने-आउने सडकमा अत्यधिक दुर्घटना हुने गरेको ट्राफिकले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार १ वर्षको अवधि (आव २०८१/८२)मा कोटेश्वर-जडिबुटी खण्डमा ३१, कोटेश्वर-बालकुमारी २९, कोटेश्वर-गौरीगाउँमा २३, मुनिभैरव-बानेश्वरमा सडक खण्डमा २६ वटा दुर्घटना भएको थियो ।

पेप्सीकोला र छाप्रो २१, कलंकी-एमालेको पुरानो पार्टी कार्यालय २२, कलंकी-ढुंगे अड्डामा १७, कलंकी-मकालु पेट्रोल पम्प २०, हल्चोक-मकालु पेट्रोल पम्प ११, नारायणगोपाल चोक-बसुन्धारा २१, नारायणगोपाल चोक-धुम्बाराही १३, माछापोखरी-सामाखुसी १५ र माछापोखरी-बालाजु खण्डमा ११ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

त्यस्तै, काठमाडौंकै मित्रपार्क-चाबहिलमा १५, हल्चोक-वनस्थलीमा १३, माइतीघर-बिजुलीबजार पुलमा २०, बौद्ध गेट- लामा पम्पमा २९ दुर्घटना भएका छन् ।

त्यस्तै, भक्तपुरको सल्लाघारी-चारदोबाटो २३, सल्लाघारी-जगातीमा १९, जगाती साँगामा १४, गट्ठाघर-लोकन्थलीमा २२, चारदोबाटो-लोकन्थलीमा २३, कौशलटार चोकमा १८ दुर्घटना दुर्घटना भएको कार्यालयको तथ्यांक छ ।

त्यसैगरी ललितपुरको सातदोबाटो एकान्तकुनामा १९, ग्वार्को-सातदोबाटोमा १७, सातदोबाटो-हात्तिवनमा १६, एकान्तकुना-नख्खुमा २४, धोबिघाट-सानेपा पुलमा १८, सानेपा पुल-एमाले पार्टी कार्यालयमा १४,दुर्घटना भएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले उपत्यकाका अन्य ठाउँहरूमा पनि फाट्टफुट्ट दुर्घटना हुने गरे पनि माथि उल्लेखित ठाउँहरूमा भने अत्यधिक दुर्घटना हुने गरेको पछिल्लो तथ्यांकमा पनि देखिएको बताए ।

उनले ती ठाउँमा दुर्घटना न्यूनीकरणका लागि प्राथमिकतामा राखेर काम गर्न लागिएको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि भन्दै ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह-२०८२ सुरू गरेको उनले जानकारी दिए

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने उनले बताए । सप्ताहमा रात्रिकालिन लामो तथा मध्यम दुरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय समेत गरिने बताइएको छ ।


Back_to_top