काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । महानगरपालिकाका नवनियुक्त नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले नगर प्रहरीहरूलाई धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पति संरक्षण, वर्कसप लगायत विषयमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
उनले अहिले धेरै कुरा नियन्त्रणमा आइसकेकाले अब नियमन मात्रै गरे पुग्ने बताए । उनले प्रहरीहरूलाई काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन समेत चेतावनी दिए ।
उनले भने,‘शक्तिकेन्द्र धाउने काम कम गरौँ । अहिले गर्ने क्रियाकलापमा फोकस हौँ । फुटपाथ, पार्किङ, धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पति संरक्षण, वर्कसप जस्ता विषयमा ध्यान दिनुपर्नेछ,’ उनले भने, ‘धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो ।’
उनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिए । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने उनको भनाइ छ ।

