हराएका ५० मोटरसाइकल र स्कुटर फेला पारी धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा २३ ओटा मोटरसाइकल र २७ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारी साधन फेला परेका हुन् ।

आज बुझाइएकासहित ट्राफिकले चालु आवको साउन यता कुल २३१ वटा सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top