काठमाडौं । सन् २०२६ मा लग्जरी र हाइ पर्फमेन्स ब्राण्डले ल्याउने कारहरूमा धनाढ्य र कारका सौखिनहरूको नजर परिरहेको छ । खासगरी, युरोप, अमेरिका, चीन र केही खाडी मुलुकहरूमा यस्ता कारहरूको उच्च माग हुने गर्छ ।
प्रिमियम ब्राण्डहरू फेरारी, एस्टन मार्टिन, म्याकलेरन, लेम्बोर्गिनी, बन्टले, पोर्शे जस्ता ब्राण्ड नेममा आउने नयाँ मोडलमा धनाढ्यहरूको नजर रहन्छ । किनभने यी कम्पनीले लिमिटेड एडिशनको रूपमा आफ्ना उत्पादन बजारमा ल्याउँछन् । त्यसैले खरिदकर्ताले पहिल्यै अर्डर गरेर यी कारहरू खरिद गर्ने गरेको पाइन्छ ।
सन् २०२६ मा धनाढ्यहरूको नजर रहेका १० मोडल कुन कुन होलान् भन्ने तपाईंको दिमागमा चल्दैछ भने यहाँ हामीले ती मोडलका बारेमा चर्चा गरेका छौं ।
१. फेरारी २९६ स्पेशल : फेरारीले बनाउने २९६ स्पेशल एक प्लगइन हाइब्रिड सुपर कारको रूपमा बजारमा आउने छ । यसमा ३.० लिटर ट्वीन टर्बो इन्जिन र इलेक्ट्रीक मोटर रहनेछ । यसले शून्यदेखि १०० किलोमिटरको टप स्पीड केबल २.८ सेकेण्डमा भेट्टाउने छ । यसको अनुमानित मूल्य ४ लाख ५० हजार अमेरिकी डलर पर्ने अनुमान छ ।
२. फेरारी एफ-८० : फेरारी एफ-८० पनि एक सुपर कार हो । यसमा रहेको ३.० लिटर भी सिक्स इन्जिन र तीन इलेक्ट्रीक मोटरको संयुक्त पावर ११८३ हर्सपावर हुन्छ । यो कारलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्न केबल २.१५ सेकेण्ड लाग्ने दाबी गरिएको छ ।

३. फेरारी इलेक्ट्रा : सुपर कारको लामो लिस्ट भएको फेरारीले पहिलो ४ सिट क्षमताको इलेक्ट्रीक कार पनि २०२६ मै ल्याउने भएको छ । अल ह्वील ड्राइभ सिस्टमको साथ आउने इलेक्ट्रामा ७३५ किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध हुनेछ । यसले पनि २.५ सेकेण्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ । यसमा १२२ किलोवाट आवरको ब्याट्री रहन्छ । डब्लूएलटीपी रेन्ज ५३० किलोमिटरभन्दा माथि रहने कम्पनीको दाबी छ ।
४. एस्टन मार्टिन वाल्हल्ला : विश्वभर केबल ९९९ युनिट मात्रै उत्पादन र बिक्री गर्ने लक्ष्य राखिएको एस्टन मार्टिन वाल्हल्ला एक प्लगइन हाइब्रिड मोडल हो । यसको बिक्री सुरू भइसकेको छ । यसमा रहेको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर १०७९ हर्स पावर छ । यसलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन केबल २.५ सेकेण्ड लाग्छ । यसमा ४.० लिटर ट्वीन टर्बो इन्जिन उपलब्ध छ ।
५. म्याकलरेन डब्लू-वान : म्याकलरेन एफ-वान कै लिमिटेड एडिसनको रूपमा यसलाई बजारमा ल्याउने घोषणा कम्पनीले सन् २०२४ मै गरेको हो । कम्पनीले केबल ३९९ युनिट डब्लू-वान मोडल उत्पादन गर्ने जनाएको छ । यसमा भी-८ हाइब्रिड इन्जिन दिएको छ । उक्त इन्जिनले १२७५ पीएस पावर र १३४० न्यूटन मिटर टर्क प्रदान गर्छ । यो सुपरक कारलाई शून्यदेखि २०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन केबल ५.८ सेकेण्ड लाग्छ ।

६. लेम्बोर्गिनी फेनोमेनो : हाइपर कार खोज्नेको लागि लेम्बोर्गिनी फेनोमेनो अर्को उत्कृष्ट मोडल हो । यसमा भी-१२ इन्जिन रहनेछ । सन् २०२५ मै यसलाई कम्पनीले देखाएको थियो । २.४ सेमेन्डमै शून्यदेखि १०० किलोमिटरको टप स्पीड भेट्टाउने फेनोमेनोमा रहेको इन्जिनले १०६५ हर्स पावर प्रदान गर्छ ।
७. पोलेस्टार-६ : पोलेस्टार ६ एउटा हाइ पर्फमेन्स इलेक्ट्रीक रोडस्टर मोडल हो । यसमा ६५० किलोवाट (८८४ हर्स पावर) क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसले ३.२ सेकेण्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ । यसले सिंगल चार्जमा झण्डै ६०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।
८. बेन्टले सुपरस्पोर्टस : लग्जरी कार खोज्नेको रोजाइमा तत्कालै पर्न सक्ने बेन्टले सुपरस्पोर्टस् ब्राण्डकै सबैभन्दा हलुका मोडलको रूपमा बजारमा आउन लागेको छ । यसमा ४.० लिटर ट्वीन टर्बो भी-८ इन्जिन दिएको छ । उक्त इन्जिनले ६६६ पीएस पावर प्रदान गर्छ । यसको पीकटर्क ८०० न्युटन मिटर रहेको छ ।

९. रेन्ज रोभर इलेक्ट्रीक : प्रिमियम र लग्जरी एसयूभी खोज्नेको लागि ब्राण्डकै पहिलो लग्जरी मोडल बजारमा आउन तयार छ । रेन्ज रोभर ब्राण्डकै पहिलो इलेक्ट्रीक लग्जरी एसयूभीमा ११८ किलोवाट आवरको ब्याट्री रहने छ । यसको रेन्ज ५०० किलोमिटर माथि रहने बताइएको छ । यसमा ५४२ ब्रेक हर्स पावर प्रदान गर्ने इलेक्ट्रीक मोटर छ । यसले ३५० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।
१०. पोर्श ९११ : पोर्स ९११ को जीटी टु आरएस मोडल पनि २०२६ मा बजारमा आउँदैछ । यसमा ३.८ लिटर ट्वीन टर्बो इन्जिन प्रयोग भएको छ । यसले ७०० पीएस पावर र ७५० न्युटन मिटर पीकटर्क प्रदान गर्छ ।


