मध्यपहाडी लोकमार्ग : ९ वर्षमा पनि बनेन १३ किमी सडक, नयाँ ठेक्काको तयारी

काठमाडौं । २ वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडा सडक ९ वर्षमा पनि सम्पन्न नभई अलपत्र परेको छ ।

कुल १३ किलोमिटर सडक नौ वर्षमा ५ पठक म्याद थप्दा पनि ठेकेदारको चरम लापारबाहीले सम्पन्न हुन नसकेको हो । यो सडक २०७३ माघ १४ गते भारत-सिद्धिसाइसँग दुई वर्षमा सक्नेगरी ४३ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले १३ मध्ये ६ किमी सडक कालोपत्र गरेर अलपत्र पारेपछि स्थानीयको आन्दोलनपछि ठेक्का रद्द गरिएको हो ।

अहिले उक्त सडकको पुरानो ठेक्का तोडी नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयका अनुसार उक्त सडकको ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि अन्तिम मूल्यांकनमा रहेको छ ।

निर्माण व्यवसायीले चरम लापरवाही गरेका कारण उक्त ठेक्का २०८२ पुस १७ गते तोडेर अन्तिम मूल्यांकनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिइन् । उनका अनुसार निर्माण व्यवसायीले गरेको हालसम्मको ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी र क्षति पुगेको पूर्वाधारको मूल्यांकन भइरहेको छ ।

‘ठेक्का तोडिएपछि अहिले अन्तिम मूल्यांकन भइरहेको छ । मूल्यांकनमा निर्माण व्यवसायीलाई दिन बाँकी बिल भए दिने र आयोजनाले लिन पर्ने भए लिने गरी टुङ्ग्याइन्छ । पहिलो ठेकेदारसँग हिसाब मिलान भए पनि अहिलेको मूल्यका आधारमा बाँकी कामको लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाइन्छ । अर्थले स्वीकृत गरेपछि नयाँ ठेक्का खुलाइन्छ,’ उनले भनिन् ।

सडक अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत थालिएको कार्यालयले जनाएको छ । ठेकेदारले सडक स्तरोन्नति र कालोपत्रका लागि ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।


Back_to_top