चीनमा बन्ने एनईभीको क्वालिटीमा आइटो अब्बल, अन्य ब्राण्ड कुन कहाँ ?

काठमाडौं । सन् २०२५ मा चीनमा उत्पादन भएका न्यू इनर्जी भेहिकलको गुणस्तरमा आइटो सबैभन्दा अगाडि देखिएको छ । चिनियाँ बजारमा उत्पादन हुने कारमा जेडी पावरले गरेको अध्ययनको आधारमा आइटो सबैभन्दा गुणस्तरीय देखिएको हो ।

जेडी पावरले यो रिपोर्ट तयार पर्दा विभिन्न ५७ ब्राण्डले उत्पादन गरेको कारहरू समावेस गरेको जनाएको छ । त्यसमा ५७०० जना चालकसँग गरेको कुराकानीको आधारमा यो रिपोर्ट तयार गरेको हो । यी गाडी चालकले आफ्नो साधन किनेको २ महिनादेखि एक वर्षसम्म भएको जनाएका थिए ।

हुवावेको स्वामित्वमा रहेको आइटो एम-९ एसयूभीको गुणस्तर धेरैले मनपराएको रिपोर्टमा उल्लेख गरिएको छ । जेडी पावरले तयार पारेको ‘क्वालिटी रिस्क इन्डेक्स’मा आइटोले १२३ अंक प्राप्त गर्दै अग्रस्थान लिएको हो ।

दोस्रो स्थानमा मर्सिडिज बेन्ज देखिएको छ । उसले क्वालिटी रिस्क इन्डेक्समा १२६ र तेस्रो स्थानको टेस्लाले १४६ अंक पाएको छ ।

चिनियाँ स्टार्टअप नियोको प्रिमियम ब्राण्ड फायरफ्लाईले पनि टेस्ला जस्तै क्वालिटी रिस्क इन्डेक्समा १४६ अंक प्राप्त गरेको देखिन्छ । साओमीले १४७ अंकसहित पाँचौं स्थान दिएको छ ।

क्वालिटी रिस्क इन्डेक्सको छैटौं र सातौं स्थानमा क्रमशः युरोपियन ब्राण्ड बीएमडब्लू र अउडी छन् । यी दुवैले क्रमशः १६३ र १७२ अंक प्राप्त गरेका छन् ।

नियो ब्राण्डले १७५ अंकसहित क्वालिटी रिस्क इन्डेक्समा आठौं स्थान लिँदा भोयाले १७९ अंकसहित नवौं स्थान लिएको हो । दशौं स्थानमा अवतार परेको छ । उसले क्वालिटी रिस्क इन्डेक्समा १८० अंक पायो ।

त्यसपछि एघारौंदेखि १५ औं स्थानसम्म क्रमशः जिकर, जिली ग्यालेक्सी, एलआई अटो, स्टेलेटो र ग्रेटवाल मोटर्सका उत्पादन छन् ।


Back_to_top