हुलास फिनसर्भको नाफा दोब्बर बढ्यो, सवारी किन्न दियो साढे १० अर्ब ऋण

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफामा उछाल आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९९.७८ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको ६ महिनामा १३ करोड ४४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड ७२ लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्ष पुससम्म कुल ६ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा प्रवाहबाट ४१ करोड ७७ लाख रुपैयाँ ब्याज र फी तथा कमिशनबाट २७ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ८५ करोड रुपैयाँ ऋण लिई १० अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड २६ लाख रुपैयाँ र अन्य जगेडा कोषमा २३ करोड १० लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । गत वर्ष पुससम्म ४.६८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.०५ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२.३९ रुपैयाँ र नेथवर्थ प्रतिसेयर १९५.६२ रुपैयाँ रहेको छ।

सन् २०१२ मा स्थापना भएको हुलास फिनसर्भ गोल्छा ग्रुप अन्तर्गतको कम्पनीको हो । कम्पनी चाँडै सेयर बजारमा आउँदै छ । कम्पनीले पौने २१ लाख कित्ता आइपीओ जारी गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


Back_to_top