बेनेलीका सस्ता बाइकमा बुकिङ अफर, के-के पाइन्छ सुविधा

काठमाडौं । इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले मोटसाइकलको बुकिङ अफर ल्याएको छ । बेनेलीको नेपालका लागि अधिकारिक बिक्रेता युनिटी ट्रेडिङले बेनेली टीएनटी १५० आई र टीएनटी १५ को बुकिङ अफर गरेको हो । 

कम्पनीका अनुसार यो बुकिङ अफर पुलचोक शोरुम र वीरगञ्ज शोरुममा लागु हुनेछ । यसरी मोटरसाइकल बुक गर्ने समय बैशाख २५ सम्म रहेको छ । यो अवधिमा मोटरसाइकल बुक गर्नेले कुनैपनि अतिरिक्त शुल्क तिर्नु नपर्ने दाबी युनिटीले गरेको छ । 

बुकिङ अफरमा मोटरसाइकल बुक गरेर खरिद गर्नेले हेलमेट, बाइकको इन्स्योरेन्स, १२ महिनाको फ्रि सर्भिस, २० लाखको दुर्घटना बीमा, १ लाखको औषधोउपचार बीमा र साथै सम्पूर्ण सडक दस्तुर कम्पनीले नै भुक्तनी गरिदिने जनाएको छ । 

नेपाली बजारमा टीएनटी–१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध रहेको छ । बेनेली टीएनटी–१५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । कार्वोरेटर भर्सन बाइकको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।  

साथै, कम्पनीले टीएनटी–१५० एफआईपनि बिक्री वितरण गरिरहेको छ । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यसको मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको छ । 


Back_to_top