चर्चित चिनियाँ ब्राण्डका ३ लाख ७० हजार ईभी ‘रिकल’ गर्न दबाब

काठमाडौं । चर्चित चिनियाँ स्मार्टफोन कम्पनी साओमीले उत्पादन गरेका करिब ३ लाख ७० हजार युनिट विद्युतीय सवारी साधन (ईभी) रिकल गर्न दबाब परेको छ ।

चीनको प्रभावशाली फाइनान्सियल संचार माध्यम यिकाइले शुक्रबार एक लेख प्रकाशित गर्दै साओमीलाई पहिलो पुस्ताको करिब ३ लाख ७० हजार साओमी एसयू ७ रिकल गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ ।

कम्पनीले उत्पादन गरेको एसयू ७ एसयूभीमा देखिएको सुरक्षा सम्बन्धी जोखिमका कारण रिकल गर्न दबाब दिइएको हो । एसयू ७ को बाहिरबाट ढोका नखुल्ने जोखिम हटाउन सकियोस् भन्ने उद्देश्यले उक्त रिकल दबाब दिएको हो ।

साओमीको एसयू ७ ईभी दुर्घटना हुँदा पावर कट भई ढोका नखुल्दा चालको मृत्यु भएपछि यसको सुरक्षामा गम्भीर चिन्ता उब्जेको हाे। घटनाको फोरेन्सिक रिपोर्टका अनुसार तीव्र गतिमा दौडिरहेको कार दुर्घटनापछि पावर सप्लाइ बन्द भएसँगै ढोका नखुलेको रिपोर्टले देखाएको हो ।

सन् २०२५ अक्टोबर १३ तारिखमा चीनको छेन्दु सहरमा उक्त दुर्घटना भएको थियो । १६५ किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडिरहेको साओमीको कार विपरित दिशाबाट आइरहेको अर्को गाडीमा ढोकिएको थियो । गाडी ठोक्किएपछि डिभाइडर पार गरेर आगलागी भएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनापछि पनि चालक जीवित थिए । ढोका कतैबाट पनि खोल्न सकिएको थिएन । दुर्घटनाको ५ मिनेट भित्र तीन फरक स्थानमा ठूलो आगलागी भयो ।

बाहिर आएको भिडियो फुटेजमा पनि एक व्यक्तिले धेरै बल लगाएर ढोका खोल्न प्रयास गरेको देखिन्थ्यो । अर्का व्यक्तिले ढोकाको सिसा फुटाए पनि भित्रबाट पनि खुल्न नसकेको र तत्कालै आगलागी सुरू भएको कारण चालकलाई गाडीबाट बाहिर ल्याउन सकेनन् ।

साअ‍ोमीको यस डिजाइन त्रुटिले विद्युतीय सवारी साधनको सुरक्षा बारे व्यापक जनचिन्ता उत्पन्न गरेको छ। यिकाइले लेखेको छ, ‘यदि त्यस समयमा साओमीएसयू ७ अल्ट्रामा बाह्य यान्त्रिक ढोका ह्याण्डल जडान गरिएको भए, उद्धारकर्ताले सवारीमा आगो लाग्नुअघि नै चालकलाई बाहिर निकाल्ने उच्च सम्भावना रहन्थ्यो र सम्भवतः ज्यान जोगिन सक्थ्यो ।’

यिकाइले साओमीले यो समस्या पहिचान गरिसकेको हुनसक्ने उल्लेख गरेको छ । ‘ढोका ह्याण्डलसँग सम्बन्धित सम्भावित सुरक्षा जोखिमले ठक्कर वा आगलागीको अवस्थामा भाग्ने र उद्धार कार्यलाई झन् कठिन बनाउँछ । साओमी र यसको संस्थापक ली जुनले पनि यो समस्या पहिचान गरिसकेको जस्तो देखिन्छ,’ यिकाइको प्रतिवेदनमा गरिएको छ।

पहिलो पुस्ताको साओमीएसयू ७ को उत्पादन  हालै सकिएकाे छ । हालसम्म करिब ३ लाख ७० हजार वटा सवारी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ। हाइ पर्फमेन्स साओमी एसयू ७ अल्ट्रा भने अझै बिक्रीमा रहेको छ । जबकि अद्यावधिक गरिएको नयाँ साओमी एसयू ७ अप्रिलमा सार्वजनिक गर्ने योजना छ ।

सन् २०२५ मा सार्वजनिक गरिएको साओमी वाइयू एसयूभी र आगामी पुस्ताको साओमी एसयू ७ दुवैले पहिलो पुस्ताको बाह्य यान्त्रिक ढोका ह्याण्डल नभएको डिजाइन परित्याग गरेका छन्।

यद्यपि, साओमीले सन् २०२७ देखि लागू हुने अनिवार्य राष्ट्रिय मापदण्ड अनुसार छिटो समायोजन गरेको भए पनि हाल चलिरहेका ३ लाख ७० हजार कारका लागि सुरक्षा चिन्ता भने अझै समाधान भएको छैन।

यसअघि लि अटोले सुरक्षा चिन्ताका कारण १० हजारभन्दा बढी लि अटो मेगा एमपीभी रिकल गरेको थियो । कम्पनीले आफ्नो ब्राण्ड प्रतिष्ठा जोगाउन १.१ अर्ब युआनभन्दा बढी खर्च गरेको थियो ।


Back_to_top