काठमाडौं । टाटा मोटर्सको नयाँ इलेक्ट्रीक एयसूभी सियरा ईभी सडक परीक्षणको क्रममा देखिएको छ ।
सियरा ईभीलाई पूरै ढाकेर सडकमा परीक्षण गरिरहेको तस्बिरहरू बाहिरिएको हो । यससँगै यो ईभी चाँडै बजारमा आउने निश्चित भएको हो ।
टाटाले सियरा ईभी कहिले लन्च गर्ने भन्ने औपचारिक घोषणा गरेको छैन । तर, सन् २०२६ को दोस्रो त्रैमास (अप्रिल-जुन) भित्रै आउने अनुमान छ ।
टाटा मोटर्सका चिफ कमर्शियल अफिसर विवेक श्रीवास्ताले टाटा सियरा ईभी सानन्द प्लाण्टमै उत्पादन हुने बताएका छन् । यद्यपि ठ्याक्कै कुन मितिदेखि उत्पादन हुन्छ भन्ने घोषणा भइसकेको छैन । हाल टाटाको सियरा आइस संस्करण पनि सानन्द प्लाण्टमै उत्पादन भइरहेको छ ।
सियरा ईभीको डिजाइन आइसीई संस्करण जस्तै देखिने छ । तर, बन्द ग्रिलजस्ता केही विशिष्ट ईभी विशेषताहरू समावेश हुने छन् । अगाडि र पछाडिको भागमा साना सजावटी परिवर्तन हुन सक्छन् । समग्र रूपमा अझ परिष्कृत देखिए पनि ठूलो परिवर्तनको सम्भावना कम छ । केही विशेष रङ विकल्पहरू पनि उपलब्ध गराइन सक्छन् ।
सियर ईभीको इन्टेरियर आइस संस्करणको जस्तै बनाउने सम्भावना छ । यसमा दुई वटा १२.३ इन्च स्क्रीन र १०.२५ इन्च इन्स्ट्रुमेन्ट क्लस्टरसहित तीन वटा स्क्रीन सेटअप हुन सक्छ ।

सियरा ईभीमा भेन्टिलेटेड सिट, इलेक्ट्रीक कन्ट्रोल चालक सिट, प्यानोरामिक सनरुफ, डल्बी अडियो प्रणाली र विभिन्न ड्राइभ मोडहरू उपलब्ध हुन सक्छन्। साथै, टाटाका अन्य ईभीमा जस्तै भी टु एल र भी टु भी चार्जिङ सुविधा पनि हुने अपेक्षा गरिएको छ ।
टाटाले सियरा ईभीलाई आफ्नो लाइन अपमा ह्यरियर ईभी भन्दा तलको स्थानमा राख्नेछ । यसमा ६५ किलोवाट आवर ब्याट्री प्याक विकल्पका रूपमा उपलब्ध हुन सक्छ । जुन ह्यारियर ईभीमा पनि प्रयोग गरिएको छ । यसले ५०० देखि ५५० किमीसम्म रेन्ज दिनेछ ।
यसमा १२० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सुविधा हुने सम्भावना छ । सिएरा ईभी पनि ह्यारियर जस्तै रियर ह्वील ड्राइभ र अल ल ड्राइभ दुवै संस्करणमा आउन सक्छ ।
टाटाले सिएरा ईभीमा इन्टिग्रेटेड ड्राइभ युनिट प्रयोग गर्न सक्छ, जुन हाल पन्च ईभीमा प्रयोग भइरहेको छ । यस प्रणालीमा मोटर लगायत प्रमुख कम्पोनेन्टहरू एउटै हाउजिङमा राखिन्छ । जसले स्थानको प्रभावकारी उपयोग र उत्पादन लागत घटाउन मद्दत गर्छ। यस्तो प्रविधिले सियरा ईभीलाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सहयोग पुर्याउन सक्छ।

