लक्ष्मी ग्रुपले ल्याउने भयो बीएआइसीका उत्पादन, आउँदै २ मोडल

काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी लिमिटेडअन्तर्गतको बीएआइसी र आरफक्स ब्राण्डका गाडी नेपाल आउने पक्का भएको छ ।

यी दुवै ब्राण्डमा उपलब्ध हुने गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । आगामी अप्रिल महिनासम्ममा यी ब्राण्डका गाडी नेपाली बजारमा उपलब्ध हुनेछन् ।

बीएआइसी ब्राण्डमा बीजे-३० मोडल नेपाल आउने छ । यो पूर्णतः अफरोड मोडल हो । लाइफ स्टाइल भेहिकलको रूपमा प्रयोगमा आउने बीजे-३० एसयूभी हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ ।

आरफक्स ब्राण्डमा भने प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री हुनेछ । सुरूमा कम्पनीले आरफक्स टी-वान मोडल नेपाली बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आधिकारिक रूपमा नयाँ गाडीको स्पेक भने सार्वजनिक गरेको छैन ।

आरफक्स टी वान

टी वान प्रिमियम ह्याचब्याक कार हो । साइजको हिसाबले कम्प्याक्ट एसयूभी सरह रहेको टी वान मोडलको लम्बाइ ४३३७ एमएम, चौडाइ १८६० एमएम र उचाइ १५७२ एमएम छ । यसमा २७७० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

‘एक्सट्रिम्ली प्योर’ डिजाइनमा आधारित टी वान ह्याचब्याक कारमा सफ्ट इन्टी पोलुसन कोटिङ गरिएको छ । सिट, ड्यासबोर्ड लगायतका स्थानमा प्रिमियम लेदरको प्रयोग भएको कम्पनीले आफ्नो आधिकारिक साइटमा उल्लेख गरेको छ ।

आरफक्समा ४१.७ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ । जसको रेन्ज ३०० किलोमिटर माथि रहन सक्छ । सीएलटीसी रेन्ज भने ४२५ किलोमिटरसम्म देखिएको छ ।

बीजे-३० हाइब्रिड

बीजे-३० एक हाडकोर एसयूभी हो । अफरोड यात्राको लागि निकै उपयोगी मानिने बीजे-३० नेपालको जस्तोसुकै क्षेत्रमा पनि सहजै चलाउन सकिन्छ ।


फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने एसयूभीमा १.५ लिटर टर्बो ड्यूल मोटर प्रयाग भएको छ । डेडिकेटेड हाइब्रिड ट्रान्समिसन प्रयोग भएको एसयूभीको माइलेज पनि प्रतिलिटर १५ किलोमिटर रहने छ ।

अफरोड मेसिन भएको कारण यसमा ७ किसिमको ड्राइभ मोड पाउन सकिन्छ । जसमा रेगुलर बाहेक स्नो, मड, स्याण्ड र वेडिङ समावेस छन् । ‘हाडकोर’ सेफ्टी बडी डिजाइनमा कम्पनीले यसलाई तयार पारेको हो ।

यसको क्याबिन पनि प्रिमियम रहने छ । ड्यासबोडमा १४.६ इन्चको स्क्रीन, १०.२५ इन्चको एलसीडी क्लस्टर, ६४ कलरको एम्बियन्ट लाइट, लेदर सिट पाउन सकिन्छ ।


Back_to_top