काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । अमेरिका र इजरायले इरानमा आक्रमण बढाएसँगै तेलको मूल्यमा अस्वभाविक वृद्धि भएको हो ।
कच्चा तेलको मूल्य सोमबार एकैदिन ३० प्रतिशतसम्म बढेको छ । आज (बिहान ८ः३० बजेसम्म) विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल २९.६० प्रतिशतले बढेर ११७.६२ अमेरिकी डलर पुगेको छ ।
यो ४ वर्ष अर्थात् सन् २०२२ जुलाइ यताकै उच्च हो । सन् २०२२ फेब्रुअरीमा रसियाले युक्रेनमा आक्रमण गरेसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड पनि २८.५६ प्रतिशतले बढेर ११७.१२ डलर पुगेको छ । आइतबार डब्ल्यूटीआइ क्रुडको भाउ प्रतिब्यारेल ९०.८७ डलर थियो ।
त्यस्तै, मुर्बान क्रुडको भाउ १७ प्रतिशतले बढेर १२१ डलर पुगेको छ । त्यस्तै, अन्य क्रुड आयलहरूको मूल्य पनि औसतमा २० प्रतिशतभन्दा धेरैले बढेको छ ।
मध्य पूर्वमा युद्ध चर्किएसँगै विश्व आपूर्ति श्रृंखलामा प्रभाव पर्दा तेलको मूल्यमा अस्वभाविक वृद्धि देखिएको हो । दुई साता अघि सुरु भएको युद्ध कहिले सकिन्छ टुंगो छैन ।
यसैबीच, इरानले तेल ढुवानी गर्ने विश्वकै प्रमुखमध्ये एक स्टेट अफ हर्मुज जलमार्ग बन्द गरेको छ । साथै, उउसले खाडीका विभिन्न देशहरूमा रहेका तेल तथा ग्यास रिफाइनरी प्लाण्टमा आक्रमण गरिरहेको छ । जसकारण विश्व बजारमा तेलको आपूर्ति प्रभावित हुँदा मूल्यमा उछाल आएको हो ।
इन्धनको मूल्य बढ्दा समग्र विश्व र्थतन्त्रै प्रभावित हुन्छ । यसले नेपाललाई समेत ठूलो प्रभाव पार्नेछ । नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य बढ्दा भारतमा पनि महँगिने र त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ ।

