पेट्रोल पम्प र ग्यास डिपोमा महानगरको निगरानी

फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेलरपेट्रोलको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।

इन्धन डिपोहरूमा तेल र डिलरहरूले ग्यासको मौज्दाज हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।

महानगरका प्रशासन विभागका प्रमुख महेश काफ्लेले गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्ने माथि कारबाही गर्ने बताए ।

‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारवाही गनेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपैयाँ तोकेको छ । यही मूल्यमा खरिद बिक्री गर्न व्यावसायी र उपभोक्ताहरूमा हाम्रो अनुरोध छ, उनले भने ।

सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व रहेको र सबैले आ आफ्ना दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएकाले निगरानी थालिएको उनले बताए ।

ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ ।


Back_to_top