काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनमा आएको छ । सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको, सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षिया पूर्ण जोशी लगायतले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
२०७६ कात्तिक ४ गतेदेखि ४२ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण थालिएको यो सुरुङमार्ग ८१ महिनापछि संचालनमा आएको हो । नागढुंगा-नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो छ ।
सुरुङमार्ग पहिलो चरणमा आपत्कालीन सवारी साधन (सुरक्षामर्कीको गाडी, एम्बुलेन्स, दमकल लगायत)का लागि मात्र खुलाइएको छ । आगामी दिनमा चरणबद्ध रूपमा अन्य निजी तथा सार्वजनिक सवारीका लागि खुला गरिने आयोजनाले जनाएको छ ।
उक्त सुरुङमार्ग करिब २१ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । सुरुङमार्ग संचालनमा आएसँगै नौबिसे नागढुंगा सडकको यात्रा अवधि ६ किमी छोटिएको छ भने आधा घण्टाको यात्रा अवधि ५ मिनेट झरेको छ । साथै, सवारी आवतजावत सहज हुनुका साथै इन्धन खपत र समय बचत हुनेछ ।

सुरुङमार्ग संचालनको ठेक्का नेपाली-चिनियाँ लगानीके युसिन एआरटी कम्पनीले पाएको छ । उक्त कम्पनीले ५ वर्षसम्म २४सै घण्टा संचालन गर्न १ अर्ब १० करोड रुपैयाँमा ठेक्का पाएको हो । ५ वर्षसम्म सोही कम्पनीले सुरुङमार्ग २४सै घण्टा संचालन, रेखदेख, मर्मत सम्भार गर्नुपर्नेछ ।
हाल नागढुंगा नाका हुँदै दैनिक औसतमा दुई पाँग्रे बाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । तीमध्ये करिब ५०/६० प्रतिशत अर्थात् ४ हजारदेखि ५ हजार सवारीले सुरुङ प्रयोग गर्ने अनुमान गरिएको छ ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन । निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन । साथै, सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।
यी बाहेक कार, जीप, भ्यान, माइक्रोबस, मिनिट्रक, ट्रक, बस लगायत सवारी भने गुड्न पाउँछन् । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनको वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।
त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीले डिजिटल माध्यममार्फत दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । सडक बोर्ड नेपालका अनुसार सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित स्टिकरका रूपमा एन-ट्यागको व्यवस्था गरिएको छ ।

सुरुङ प्रयोग गर्ने गाडीले भुक्तानीका लागि बैंकबाट एन ट्याग कार्ड लिनुपर्छ । हाल ग्लोबल आईएमई, कुमारी, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र सानीमा बैंकबाट एट ट्याग कार्ग लिन पाइन्छ । हाललाई १ हजार, २ हजार र ५ हजार नगदको एन-ट्याग लिने व्यवस्था गरिएको छ । उक्त एनट्याग कार्डको स्टिकर गाडीको सिसामा टाँस्नुपर्छ । जसलाई मेसिनले अटोमेटिक रिड गर्छ । र, कार्डबाट अनलाइन भुक्तानी हुन्छ । यद्यपि, सुरूआती केही समय क्यूआर र नगदबाट पनि भुक्तानीको व्यवस्था मिलाइने छ । भारत र चीनबाट आउने पर्यटकका लागि नगदबाटै भुक्तानी गर्न सक्नेछन् । सुरुङमार्गबाट उठेको दस्तुर दैनिक सडक बोर्ड नेपालमा खातामा जम्मा हुनेछ ।


