यात्रु उभ्याउने बस र माइक्रोबस कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा यात्रुलाई उभ्याएर यात्रा गराउने सार्वजनिक सवारी साधनलाई कारबाही गर्न थालेको छ ।

यात्रुहरूको गुनासोको आधारमा ट्राफिकले बुधबार उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रोबस जस्ता सार्वजनिक सवारीमा जेकजाँच गरी कारबाही गरेको हो ।

यद्यपि, कति संख्याका कारबाही गरिएको भन्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले खुलाएको छैन ।

कार्यालयका अनुसार विशेष चेकजाँच गर्दा यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारी साधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गर्ने सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको हो ।

ऐनको दफा १६४ मा सवारीमा तोकिएको भन्दा बढी यात्रु राखेमा,
सवारीको छत वा असुरक्षित भागमा यात्रु राखेमा वा यात्रुको सुरक्षामा प्रत्यक्ष जोखिम पर्ने गरी सवारी चलाएमा १५०० देखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

साथै, सम्बन्धित सहचालकहरूलाई सचेतना कक्षा पनि संचालन गरिएको कार्यालयले जनाएको छ ।


Back_to_top