काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । सन् १९७६ मा स्थापना भएको नाडाले आफ्नो यात्राको आधा शताब्दी पूरा गरेको हो ।
नाडाले ५० औं वार्षिकोत्सवको अवसरमा यस वर्षको नाडा अटो शोलाई ‘गोल्डेन जुब्ली’ एडिसनका रूपमा मनाउने भएको छ । अटो क्षेत्रको कुम्भ मेला मानिने नाडा अटो शो यसपटक विशेष उत्सवका साथ आयोजना गर्न लागेको हो ।
यस एडिसनलाई स्मरणीय बनाउन यस पटकको प्रदर्शनीलाई थप परिष्कृत र वृहत् बनाउने नाडाले तयारी गरेको छ ।
५० वर्षको यात्रालाई प्रतिबिम्बित गर्ने गरी यसपटकको अटो शोको थिम ‘द गोल्डेन जुब्ली’ राखिएको छ । यसले नेपालको अटोमोबाइल क्षेत्रको विकासक्रमलाई समेत झल्काउने अपेक्षा गरिएको छ ।
यस वर्षको नाडा अटोमा विगतका वर्षहरुमा जस्तै विद्युतीय सवारी साधन र नयाँ प्रविधिलाई प्राथमिकतामा राखिएको छ । भदौ ९ गतेदेखि आयोजना हुने अटोमा दुईपाँग्रे, चारपाँग्रे , कमर्शियल सवारी, स्पेयर पाट्र्स, टायर, ब्याट्री, चार्जिङ पूर्वाधार, अटो कम्पोनेन्ट, अटो क्षेत्रसँग सम्बिन्धत अन्य प्रोडक्ट प्रदर्शनी गरिने छ।


