सस्तो र सानो कार खोज्नेलाई ‘मिनी ईभी’, भोलिबाट बिक्री सुरू

काठमाडौं । साना र कम मूल्यको विद्युतीय कार खोज्नेहरूको लागि भोलिबाट सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ विशेष हुने देखिन्छ ।

बुलिङको सफल मिनी ईभी ‘होङगुआङ’को पाँचौं जेनेरेशन मोडल नेपालमा भने ‘मिनी ईभी’ नामबाट आउने छ । यसअघि एयर मिनी ईभी नामबाट नेपालमा बिक्री भएको थियो । तर, यसपटक ५ ढोकासहित यो मिनी ईभी बजारमा आउन लागेको हो ।

होङगुआङ मिनी ईभी अहिलेसम्म १९ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । पाँचौं जेनेरेशन मोडलमा आइपुग्दा यसको लम्बाइ ३२६८ एमएम भएको छ । चौडाइ १५२० एमएम रहेको कार १५७५ एमएम अग्लो छ ।

मोबाइल एप कनेन्टिभिटी उपलब्ध कारमा थुप्रै सुरक्षा फिचर छन् । इलेक्ट्रीक पार्किङ ब्रेक, दुई एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड, डाइनामिक ब्रेक फङ्सन, ट्रयाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक असिस्ट, अटो होल्ड जस्ता फिचर छन् ।

‘हाइ स्ट्रेन्थ स्टील’को प्रयोग भएको मिनी कार सहरी क्षेत्रको लागि निकै स्मार्ट मोबिलिटी हुने अनुमान गर्न सकिन्छ । यहाँका साँघुरा गल्ली र टाइट पार्किङमा पनि यसलाई सहजै लान र राख्न सकिन्छ । हाइ डेफिनेशन क्वालिटीको रिभर्स इमेज, रियर पार्किङ सेन्सर जस्ता फिचरले चालकलाई निकै सहज बनाउने छ ।

यसको चेसिस पनि सहर केन्द्रित नै छ । आरामदायी यात्रालाई ध्यानमा राखेर बनाइएको मिनी कारको चारवटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ । जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । स्टायण्डर्ड, ईको र स्पोर्ट मोड आवश्यकता अनुसार चालकले प्रयोग गर्न सक्नेछन् ।

रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि ३ तहको छ । जहाँ कम्र्फट, स्टायण्डर्ड र स्ट्रङ मोड पाउन सकिन्छ । डीसी चार्जरको प्रयोग गर्न सकिने मिनी कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्नेछ ।

इन्डोनेशिया र चीनमा दुई ब्याट्री अप्सनमा पाइने यो कारमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । जसको अधिकतम सीएलटीसी रेन्ज ३०० किलोमिटरसम्म हुने कम्पनीको दाबी छ ।

नेपाली बजारमा दुबै ब्याट्री अप्सनमा उपलब्ध हुने हाम्रो अनुमान छ । कम्पनीले यसको मूल्य भोलि घोषणा गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top