होङछी ईएचएस-४ र हाभल जोलियन म्याक्स ईभीमा कुन बलियो ?

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन दुई एसयूभी सार्वजनिक भए । दुबै एसयूभी एकै दिन र एउटै मूल्यमा बिक्री घोषणा भयो ।

जसमा चिनियाँ प्रिमियम ब्राण्ड होङछीको ईएचएस ४ र हाभल जोलियन म्याक्स ईभी दुबै एउटै मूल्य ६० लाख रुपैयाँ कायम गरेर बिक्री थालिएको हो । एउटै मूल्यमा आएका दुई एसयूभीमा धेरै कुरा समान छन् । केही कुरामा भने भिन्नता पाइन्छ ।

दुवै एसयूभीमा आधुनिक डिजाइन, प्रिमियम क्याबिन, लामो रेन्ज र एडास सुरक्षाजस्ता सुविधा छन् । तर, मोटर पावर, ब्याट्री क्षमता, रेन्ज, आकार र क्याबिन सुविधामा भने केही महत्वपूर्ण फरक देखिन्छ ।

मोटर पावरमा इएचएस-४ अगाडि

होङछीले इएचएसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरेको छ । उक्त मोटरले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । जोलियन म्याक्स ईभीमा भने १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसको पीकटर्क २६० न्युटन मिटर छ ।

मोटर पावरका हिसाबले इएचएस-४ करिब १० किलोवाट अगाडि छ । तर, टर्कमा भने जोलियन म्याक्स २० न्युटन मिटरले अगाडि देखिन्छ । यसले कागजी स्पेसिफिकेसनमा दुवैको प्रदर्शन क्षमता उस्तै देखिन्छ ।

ब्याट्री र रेन्जमा पनि ईएचएस४ को अग्रता

ब्याट्री क्षमतामा होङछी ईएचएस-४ अगाडि छ । यसमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसले एकपटकको पूर्ण चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।

जोलियन म्याक्समा ५८.३ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर रहेको छ ।

यसरी हेर्दा ईएचएस-४ मा जोलियन म्याक्सभन्दा करिब ८.८ किलोवाट आवर ठूलो ब्याट्री र ६० किलोमिटर बढी रेन्ज दिने क्षमता छ ।

साइजमा जोलियन म्याक्स ठूलो

बडी साइजको कुरा गर्दा जोलियन म्याक्स केही ठूलो छ । यसको लम्बाइ ४,५९० एमएम, चौडाइ १,८७७ एमएम र उचाइ १,६७५ एमएम छ ।
होङछी ईएचएस४ भने ४,५२० एमएम लामो, १,८७३ एमएम चौडा र १,६४७ एमएम अग्लो छ ।

यस आधारमा जोलियन म्याक्स ईएचएस-४ भन्दा ७० एमएम लामो, ४ एमएम चौडा र २८ एमएम अग्लो छ । त्यसैले बाहिरी आयामका हिसाबले जोलियन म्याक्स केही ठूलो एसयूभी हो ।

ईएचएस-४ मा ३९३ लिटरको बुट स्पेस छ । जसलाई पछाडिको सिट फोल्ड गरेपछि १,३०० लिटरसम्म विस्तार गर्न सकिन्छ । जोलियन म्याक्सको बुट क्षमता यहाँ उपलब्ध विवरणमा उल्लेख गरिएको छैन ।

क्याबिनमा दुवैको आ-आफ्नै विशेषता

क्याबिन फिचरमा दुवै एसयूभी प्रिमियम देखिन्छन् । ईएचएस४मा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन दिइएको छ । अगाडिका सिटमा भेन्टिलेसन, ६४ रङको डाइनामिक एम्बियन्स लाइट, हिट पम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल र पावर टेलगेटजस्ता सुविधा छन् ।

त्यस्तै, इन्टिग्रेटेड प्यानोरामिक ग्लास रूफ, सेमी हिडन डोर ह्यान्डल, रेन सेन्सिङ वाइपर, हिटेड रियर विन्डस्क्रिन तथा मेमोरी फङ्सनसहितको टेलगेटले ईएचएस४ लाई थप प्रिमियम बनाउन खोजिएको छ ।

जोलियन म्याक्समा पनि १४.६ इन्चको मल्टिमिडिया टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ६ वटा स्पिकर, भ्वाइस कन्ट्रोल, मोबाइल कनेक्टिभिटी र प्यानोरामिक सनरुफ छन् ।

अगाडिका सिटमा इलेक्ट्रिक एडजस्टमेन्टसँगै तताउने र चिस्याउने सुविधा, हिट पम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिक टेलगेट उपलब्ध छ । त्यसैले क्याबिन कम्फर्टमा दुवै एसयूभीबीच ठूलो अन्तर देखिँदैन ।

सुरक्षामा दुवै बलिया

सुरक्षा तथा एडासमा पनि दुवै एसयूभीले आधुनिक सुविधा दिएका छन् । ईएचएस-४ मा ६ वटा एयरब्यागसँगै ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, एडप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ, अटोमेटिक लेन चेन्ज, ट्राफिक साइन रिकग्निसन, फ्रन्ट भेहिकल डिपार्चर वार्निङ, एडभान्स्ड इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट र ब्लाइन्ड स्पट डिटेक्सन छन् ।

जोलियन म्याक्समा पनि लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, फ्रन्ट राडार तथा ड्राइभर फटिग मोनिटरिङजस्ता सुविधा छन् । यसमा ३६० डिग्री क्यामेरा, अगाडि-पछाडि पार्किङ सेन्सर, डोर ओपनिङ वार्निङ र रियर कोलिजन वार्निङ पनि छन् ।

कुन रोज्ने ?

मूल्य उस्तै रहेको अवस्थामा यी दुई एसयूभीबीचको छनोट ग्राहकको प्राथमिकतामा निर्भर हुन्छ ।

लामो रेन्ज, ठूलो ब्याट्री र बढी मोटर पावरलाई प्राथमिकता दिने हो भने होङछी ईएचएस-४ आकर्षक विकल्प देखिन्छ ।

अर्कोतर्फ, जोलियन म्याक्स केही ठूलो बडी, बढी टर्क, फराकिलो क्याबिनको सम्भावना, समृद्ध कनेक्टिभिटी र कम्फर्ट फिचरका कारण प्रतिस्पर्धी देखिन्छ ।

यी दुई एसयूभीको प्रतिस्पर्धा भने मूल्यभन्दा बढी ब्राण्ड, ड्राइभिङ अनुभव, बिक्रीपछिको सेवा र ग्राहकले पाउने वास्तविक स्वामित्व अनुभवमा निर्भर हुने देखिन्छ ।


Back_to_top