काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले नेपाल-चीन जोड्ने कोदारी राजमार्ग स्तरोन्नति अपरिहार्य रहेको बताएका छन्।
मन्त्री चौलागाईंले शनिबारको निरीक्षणका क्रममा नेपाल-चीन जोड्ने महत्त्वपूर्ण राजमार्ग पूर्ण रूपमा संचालनमा ल्याउन सडक स्तरोन्नति अपरिहार्य रहेको बताएका हुन् ।
‘नेपाल-चीन जोड्ने यस महत्वपूर्ण नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक स्तरोन्नति अपरिहार्य रहेको हामीले पायौँ । स्थानीय जनजीवन, व्यापार र आवतजावतसँग प्रत्यक्ष जोडिएको यस सडकको सुधारमा तीव्रता ल्याउने कुरामा जोड दिइएको छ,’ उनले भने ।
उनले सूर्यविनायक-धुलिखेल सडकखण्डसहित सिन्धुपाल्चोकको तातोपानी-खासा नाका जोड्ने अरनिको राजमार्गका निर्माणाधीन तथा जीर्ण खण्डहरूको अवलोकन गरेका थिए ।
विशेषगरी पहिरो जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्दै दीर्घकालीन र वैज्ञानिक समाधानमार्फत सडकलाई सुरक्षित, दिगो र सहज बनाउने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको चौलागाईंको भनाइ छ।
स्थानीयवासीका गुनासा, सुझाव तथा आवश्यकता समेत सुन्दै तत्काल सुधार गर्नुपर्ने स्थानहरूको पहिचान गरी आगामी नेतृत्वलाई सुझाव हस्तान्तरण गर्ने पनि उनले बताएका छन्।

