काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक टाटा मोटर्सले आगामी आर्थि वर्षदेखि आइसीई सवारी साधनहरूको मूल्य बढाउने घोषणा गरेको छ ।
कम्पनीले सन् २०२६ अप्रिल १ देखि लागू हुने गरी आफ्ना पेट्रोल, डिजेल र सीएनजी कारमा ०.५ प्रतिशत मूल्य बढाउने भएको हो ।
कम्पनीले आफ्नो उत्पादन लागत बढेकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ । ‘इनपुट लागतमा भइरहेको निरन्तर वृद्धिलाई आंशिक रूपमा समायोजन गर्न मूल्य वृद्धि गरिएको हो,’ टाटाले भनेको छ ।
टाटाका अनुसार मूल्य वृद्धि विभिन्न मोडेल र भेरियन्ट अनुसार फरक फरक हुनेछ । टाटाले कुन मोडेलमा सबैभन्दा बढी मूल्य वृद्धि हुनेछ वा प्रत्येक कारको ठ्याक्कै नयाँ मूल्य कति हुनेछ भन्नेबारे केही खुलाएको छैन । टाटाले हाल ९ मोडलका प्यासेन्जर कार बिक्री गर्दै आएको छ ।
भारतमै मूल्य वृद्धि भएसँगै नेपाल आउने कार पनि महँगिन्छ । यद्यपि, ०.५ प्रतिशत मात्रै बढाउने भएकाले खासै ठूलो प्रभाव पर्ने देखिँदैन ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दो द्धन्द्धका कारण अटोमोबाइल उद्योगहरूको लागत बढ्न थालेको छ । कच्चा पदार्थ र पार्टपुर्जाको मूल्य वृद्धि, उत्पादन लागत वृद्धि, आपूर्ति शृंखलामा समस्या, मुद्रा विनिमय दरको उतारचढाव लगायत कारण उनीहरूको उत्पादन लागत बढेको हो ।


