अर्को साता आउँदै चेरी र ज्यागुअर ल्याण्ड रोभरले बनाएको पहिलो एसयूभी

काठमाडौं । चिनियाँ ब्राण्ड चेरी र ब्रिटिस लग्जरी ब्राण्ड ज्यागुअर ल्याण्ड रोभरले संयुक्त रूपमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी अर्को साता विश्व बजारमा आउने भएको छ ।

दुई ब्राण्डको सहकार्यमा ‘फ्रील्याण्डर’ ब्राण्डको पहिलो गाडी आगामी मार्च ३१ मा सार्वजनिक हुने भएको हो । फ्रील्याण्डर एसयूभी केही समय अघि कभरले ढाकेर सडकमा गुडाइरहेको तस्बिर बाहिरिएको थियो ।

अहिले आउन लागेको पहिलो फ्रील्याण्डर गाडी ६ जना बस्न मिल्ने ठूलो हाइब्रिड एसयूभी हुनेछ । यसको बाहिरी बनावट निकै बलियो र आकर्षक देखिन्छ । जसले पुरानो फ्रील्याण्डर गाडीको सम्झना दिलाउँछ। धेरैले यसलाई चीनमा बनेको मिनी डिफेन्डर पनि भनेका छन् । यसको अगाडिको भागमा आधुनिक एलईडी लाइटहरू राखिएका छन्।

यो एसयूभीमा १.५ लिटरको इन्जिन र तीनवटा मोटरहरू भएको हाइब्रिड प्रविधि प्रयोग हुने अनुमान गरिएको छ । यो गाडी चेरीको नयाँ विद्युतीय प्लेटफर्ममा आधारित छ। यसमा हुवावेको आधुनिक ड्राइभिङ सिस्टम, सीएटीएल कम्पनीको पावरफुल ब्याट्री र क्वालकम कम्पनीको नयाँ चिप राखिएका छन् । भविष्यमा यो एसयूभी प्योर इलेक्ट्रीकमा पनि उपलब्ध हुनेछ ।

फ्रील्याण्डर एसयूभीमा ल्याण्ड रोभरको विरासत र चेरीको आधुनिक प्रविधि जोडिएको छ । यसलाई विश्वकै एउटा आधुनिक र स्मार्ट इलेक्ट्रीक ब्राण्डका रूपमा अगाडि सारिएको छ। यो ब्राण्ड ज्यागुअर ल्याण्ड रोभरका अहिलेका महँगा गाडीहरू र चेरी कम्पनीका गाडीहरूभन्दा फरक हुनेछ। यसको मुख्य लक्ष्य भनेको चेरी कम्पनीको नयाँ प्रविधिलाई ज्यागुअर ल्याण्ड रोभरको विलासी र कठिन बाटोमा चल्न सक्ने क्षमतासँग जोड्नु हो।

फ्रील्याण्डर नामको आफ्नै पुरानो इतिहास छ। सन् १९९७ मा सुरु भएको यो गाडी सहरमा चलाउन सजिलो र अफरोडमा पनि उत्तिकै बलियो भएकाले निकै सफल भएको थियो। यो लगातार ५ वर्षसम्म युरोपमा सबैभन्दा धेरै बिक्री हुने गाडी बनेको थियो।

फ्रील्याण्डरले चीनको सांघाइमा मुख्य कार्यालय र बेलायतमा डिजाइन केन्द्र खोलेको छ। चेरी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो कारखानालाई आधुनिक बनाउन ३ अर्ब युआन लगानी गरेको छ। कम्पनीले नयाँ ईभी बनाउन आवश्यक सरकारी अनुमति समेत पाइसकेको छ ।

कम्पनीले आफ्ना गाडी बेच्न ५० भन्दा बढी सहरमा ६० वटा डिलरहरूसँग सम्झौता गरिसकेको छ । यो गाडीलाई सर्वसाधारणले हेर्न र अनुभव गर्न पाउने पहिलो केन्द्र चीनको सुझौ सहरमा खुल्नेछ।


Back_to_top