जेनजी आन्दोलनमा क्षति पुगेका सवारीधनीले पाए ४८ प्रतिशत भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले झण्डै २ अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी पाएका छन् ।

आन्दोलनबाट २३३० निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ८५ करोड ८१ लाख ३५ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी भएको थियो ।

सोमध्ये फागुन मसान्तसम्म १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । दाबीकर्ताले कुल दाबीको ४८.४५ प्रतिशत भुक्तानी पाएका हुन् ।सवारीधनीको दाबी अनुसार अझै १ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

प्राधिकरणका अनुसार दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्छ । मूल्यांकन पूरा भएका पोलिसीहरूको भुक्तानी भइसकेको र मूल्यांकन प्रक्रियामा रहेको भुक्तानी बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

आन्दोलनका क्रममा देशभर साढे १२ हजार बढी निजी तथा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरिएको थियो । जसमा सरकारी सवारी साधनको बीमा नै नगरिएकाले दाबी परेको छैन । त्यस्तै, निजीतर्फ पनि क्षति पुगेका केही सवारी साधनको बीमा नभएको पाइएको छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा गरेकाहरूले मात्रै सवारी साधन क्षति भए बापत क्षतिपूर्ति पाउँछन् ।

प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब ३८ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ । १४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३३४ वटा दाबी परेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै १८ अर्ब ९९ करोड रुपैयाँ बराबरको ७२० सम्पत्ति बीमा दाबी परेको छ ।


Back_to_top