काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारी साधन फेला परेका हुन् ।
प्रहरीले काठमाडौं उपत्यकाका काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
त्यस्तै, चोरीका १८ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
आज बुझाइएकासहित ट्राफिकले चालु आवको साउन यता कुल ३४७ वटा सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ ।
प्रहरीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्याण्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

