काठमाडौं । सरकार ट्राफिक नियम उल्लंघन गर्ने विरुद्ध निर्मम बन्ने भएको छ । सडक नियम उल्लंघन गर्ने प्रवृति बढेसँगै चर्को जरिवाना लगाएर निरुत्साहित गर्ने तयारी थालिएको हो ।
यसका लागि पूर्वाधार विकास मन्त्रालयले कानुनको मस्यौदा समेत तयार पारिसकेको छ । मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’मा ट्राफिक नियम मिच्ने चालकलाई १ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।
त्यस्तै, पैदल यात्रु र सवारीमा चढ्ने यात्रुलाई मर्यादित र अनुशासित बनाउन जरिवाना तिराउने प्रस्ताव गरिएको छ । विधेयकको मस्यौदामा पैदल यात्रुले तोकिएको फूटपाथ बाहेक अन्य स्थानबाट सडकमा यात्रा गरेमा ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यसैगरी, कुनै पनि सवारी साधन वा त्यसमा रहेका यात्रुले गाडीबाट सडकमा फोहोर फालेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, बिगारेमा, मेटेमा, च्यातेमा ५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
सडकमा अवरोध गर्नेलाई समेत कारबाहीको व्यवस्था गरिएको छ । सार्वजनिक सडकमा मालसामान, निर्माण सामग्री वा सवारीसाधन राखी वा पशु चौपाया छोडी मानिस वा सवारीसाधनको आवागमनमा बाधा पुर्याएमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयकको मस्यौदा पूर्वाधार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ । कानुनको सहमति प्राप्त भएपछि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदमा पुग्नेछ ।
कुनै विधेयक संघीय सदनका दुवै संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भई राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि मात्रै कानुनको रूप लिन्छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने छ ।


