सुरक्षा कवच हेल्मेट बारे थाहा पाउनै पर्ने ५ कुरा

काठमाडौं । दुईपाँग्रे सवारी चालकले हेल्मेट लगाउनै पर्ने कानुनी व्यवस्था छ । विगतमा मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई समेत अनिवार्य गरिएको थियो । यद्यपि, हाल सो नियम कार्यान्वयनमा छैन ।

हेल्मेट कानुनी बाध्यता मात्र होइन, यो सुरक्षा कवच हो । यसले सडक दुर्घटनामा टाउकोमा चोटपटक लाग्न र ज्यान जानबाट जोगाउन सहयोग पुर्याउँछ । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार, हेल्मेट लगाउने चालकमा हुन सक्ने टाउकाको गम्भीर चोटमा करिब ७० प्रतिशत कमी आएको थियो । एक अफ्रिकी रिपोर्टअनुसार हेल्मेटले ८८ प्रतिशतसम्म टाउको चोटको जोखिम न्यून भएको पाइएको थियो ।

प्रायःजसो चालकले एकपटक हेल्मेट किनिसकेपछि त्यो नफुट्न वा नब्रिग्रिएसम्म प्रयोग गरिरहन्छन् । वर्षौं पुरानो हुँदासम्म प्रयोग गरिरहन्छन् । हेल्मेट बाहिरबाट हेर्दा ठिक देखिए पनि पुरानो हुँदै जाँदा यसको भित्री संरचना कमजोर हुँदै जान्छ । जसले दुर्घटनाको बेला अपेक्षित सुरक्षा दिन सक्दैन ।

हेल्मेट निकै महत्वपूर्ण सुरक्षा उपकरण हो । यसका बारेमा थाहा पाउनै पर्ने महत्वपूर्ण कुरा बारे हामीले यहाँ चर्चा गरेका छौं ।

एक्सपायर हुन्छ कि हुँदैन ?

औषधि, खानेकुरा लगायत वस्तुको जस्तो हेल्मेटमा एक्सपायर डेट लेखिएके हुँदैन । यद्यपि, यसमा उत्पादन मिति भने लेखिएको हुन्छ । एक्सपायर डेट नलेखिए पनि यसको प्रयोग असीमित समयसम्म भने हुँदैन । सुरक्षा विशेषज्ञहरू र हेल्मेट निर्माता कम्पनीहरूका अनुसार एउटा हेल्मेटको औसत आयु धेरैमा ६-७ वर्षसम्मको हुने बताइएको छ । यसमा प्रयोगको तरिका, मौसमको प्रभाव र हेरचाहको स्तर अनुसार यो अवधि कम वा बढी पनि हुन सक्छ । यसका लागि प्रयोग कर्ताले ध्यान दिनु एकदमै आवश्यक हुन्छ । समयसँगै हेल्मेटका विभिन्न भित्रि भागहरूमा हुने क्षतिका कारण यसको सुरक्षा क्षमता घट्दै जाने भएको हो ।

ईपीएस लाइनरमा खराबी

हेल्मेटको भित्री भागमा सेतो फमजस्तो तह हुन्छ, जसलाई एक्स्पेन्डेड पोलिस्टाइरीन (ईपीएस) भनिन्छ । यो एक किसिमको हलुका प्लास्टिक पदार्थबाट बनेको मेटेरियल हो । यसलाई थर्मोकोल पनि भनिन्छ । यो फम हेल्मेटका अलावा प्याकिङ सामाग्रिका साथै कप र प्लेटमा पनि प्रयोग गरिन्छ ।

ईपीएस भागले दुर्घटनाको बेला टाउकोमा लाग्ने झट्कालाई सोस्ने काम गर्छ । तर समय बित्दै जाँदा पसिनामा रहेको एसिड, कपालको तेल, धुलो र गर्र्मीको प्रभावले यो फम कडा र कमजोर बन्दै जान्छ । परिणाम स्वरूप, दुर्घटनाको समयमा यसले पहिलाजस्तो प्रभावकारी रूपमा झट्का सोस्न सक्दैन । त्यसैले मोटरसाइकल वा स्कुटरको जस्तै हेल्मेटलाई पनि समय समयमा सर्भिसिङ गर्न आवश्यक छ ।

‘आउटर सेल’ कमजोर हुनु

हेल्मेटको ईपीएस जस्तै बाहिरी भाग आउटर सेल पनि निकै महत्वपूर्ण हुन्छ । दुर्घटनाको क्रममा ईपीएस भन्दा अघि आउटर सेल ठोक्किन पुग्छ । त्यसकारण यसको प्रोटेक्सन पनि उत्तिकै हुन्छ । तर हेल्मेट निकै पुरानो भइसकेको छ भने यो पनि कमजोर अवस्थामा पुगिसकेको हुन्छ ।
लामो समयसम्म घामको यूभी किरणको सम्पर्कमा रहँदा यसको मजबुती घट्दै जान्छ । साथै, बारम्बार प्रयोग गर्दा झोलामा राख्दा वा सानो–सानो ठक्कर लाग्दा पनि बाहिरी खोलमा सूक्ष्म क्षति हुन सक्छ । यसले गर्दा हेल्मेटको समग्र संरचना कमजोर बन्न पुग्छ ।

फिटिङ बिग्रिनु

समयसँगै हेल्मेटको भित्री प्याडिङ खुकुलो हुन थाल्छ । जसले गर्दा हेल्मेट टाउकोमा मजबुत रूपमा बस्दैन । यदि हेल्मेट सही रूपमा फिट भएन भने दुर्घटनाको बेला यो टाउकोबाट खस्न सक्छ, जसले गम्भीर चोट लाग्ने जोखिम बढाउँछ । ईपीएस पछि राखिने फम नरम हुन्छ । त्यसैले छिटै पातलिँदै जान्छ ।

कहिले  फेर्ने ?

यदि हेल्मेट एकपटक पनि माथिबाट खसेको छ वा सानोतिनो दुर्घटनामा परेको छ भने तुरुन्त बाहिर भित्र सबै चेक गर्नुपर्छ । बाहिर कुनै ठूलो क्षति नदेखिए पनि भित्री संरचना बिग्रिएको हुन सक्छ । यसले जोखिम अझै बढाउने काम गर्छ । यदि थोरै पनि फुटेको छ भने हेल्मेट बदल्नु नै बुद्धिमानी हुन्छ ।

यसका अलावा हेल्मेट लगाउँदा टाउकोमा हल्लिन्छ वा फिटिङ खुकुलो भएको महसुस हुन्छ भने त्यो सुरक्षित मानिँदैन । हेल्मेट ८र९ वर्ष पुरानो भइसकेको छ भने सुरक्षा दृष्टिले कमजोर मानिन्छ । त्यसको सट्टामा नयाँ हेल्मेट किन्नु नै उपयुक्त हुन्छ ।

निष्कर्ष

हेल्मेट केवल ट्राफिक नियम पालना गर्नका लागि मात्र नभई आफ्नो ज्यान जोगाउनका लागि अत्यन्तै महत्वपूर्ण उपकरण हो । त्यसैले सधैं गुणस्तरीय ‘आइएसआइ’ प्रमाणित हेल्मेट नै प्रयोग गर्नु पर्छ । सस्तो र कमजोर हेल्मेटको प्रयोगले तपाईंलाई ट्राफिक जरिवानाबाट जोगाउन सक्छ, तर दुर्घटनाको बेला तपाईंको सुरक्षा गर्न सक्दैन ।

हेल्मेट चालकको सुरक्षा कवच समेत हो । राम्रो गुणस्तरको प्रयोग गर्नुहोस् र सधैं सही तरिकाले लगाउनुहोस् । किनभने स्टाइल त फेरि बनाउन सकिन्छ, तर टाउको चाहिँ एकैपटक मात्र पाइन्छ ।


Back_to_top