४ वर्षदेखि ‘चिर्कटो’ बोकेर हिँडेका सबैले अब असार भित्रै लाइसेन्स पाउने

काठमाडौं । विगत ४ वर्षदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउन नसकेका सबै सेवाग्राहलीले आगामी असार मसान्त भित्रै पाउने भएका छन् ।

सरकारले लामो समयदेखि छपाई हुन नसकेका लाइसेन्स असार भित्रै छापेर वितरण गर्ने तयारी थालेको हो । सन् २०२२ मे यता आवेदन दिएका सेवाग्राहीले हालसम्म लाइसेन्स पाउन सकेका छैनन् । उनीहरू राजस्व तिरेको चिर्कटो बोकेर हिँडिरहेका छन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रमुख सुधारात्मक कार्यक्रम’ स्वीकृत गर्दै आगामी असार भित्रै सबै लाइसेन्स वितरण गर्ने लक्ष्य राखेको हो । मन्त्रालयले लाइसेन्स वितरणमा देखिएको वर्षौँदेखिको अन्योल र ढिलाइ अन्त्य गर्न समयसीमा तोकेरै काम अघि बढाउने भएको हो ।

संचार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हाल छाप्न बाँकी करिब २९ लाख लाइसेन्स आगामी असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने बताएका छन् । साथै, उनले अब नयाँ आवेदन दिने सेवाग्राहीलाई २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराइने जानकारी दिएका छन् ।

‘हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइनेछ,’ उनले भनेका छन् ‘नयाँ लाइसेन्स आवेदनका हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाई गरी उपलब्ध गराउनेछ ।’

यातायात व्यवस्था विभागका अनुसार हाल करिब २९ सेवाग्राहीले लाइसेन्स पाउन बाँकी छ । सोमध्ये विभागले पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्न सुरक्षण मुद्रण केन्द्रलाई २७ करोड रुपैयाँमा ठेक्का दिइसकेको छ । सम्झौता अनुसार आगामी वैशाख १२ गते भित्र १२ लाख लाइसेन्स छापिसकिने छ । हालसम्म ३ लाख लाइसेन्स प्राप्त भई वितरणका लागि सम्बन्धी कार्यालयहरूमा पठाउने क्रममा रहेको विभागले जनाएको छ ।

बजेट अभावका कारण बाँकी १७ लाख लाइसेन्स छपाइको टुंगो लाग्न सकेको थिएन । अब थप बजेट व्यवस्था गरी बाँकी लाइसेन्स छाप्न लागिएको विभागले जनाएको छ ।

विभागका निर्देशक केशव खतिवडाले ब्याकलग लाइसेन्स छपाइका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संचार मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग छलफल भइरहेको बताए । बाँकी लाइसेन्स छपाइका लागि चाँडै विभाग र केन्द्र बीच सम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।

‘करिब २९ लाख ब्याकलग लाइसेन्स मध्ये १२ लाख छपाइका लागि मंसिरमै सम्झौता भएको थियो । हालसम्म ३ लाख छापिएर आइसक्यो । बाँकी बैशाख दोस्रो सातासम्म आउने छ,’ उनले मेरोअटोसँग भने, ‘छपाइको टुंगो लाग्न बाँकी १७ लाख असार भित्रै छापेर बाँड्ने लक्ष्य छ । हाल मन्त्रालयमा छलफल भइरहेको छ । सम्भवतः चाँडै सम्झौता हुन्छ ।’

हाल सुरक्षण केन्द्रको अत्याधुनिक छपाइ मेसिनमार्फत क्यूआर कोडसहितको लाइसेन्स छपाइ भइरहेको छ । केन्द्रको लाइसेन्स छपाइ क्षमता दैनिक ५० हजार थानसम्म रहेको छ । उक्त मेसिनलाई पूर्ण क्षमतामा संचालन गर्दा बाँकी १७ लाख लाइसेन्स डेढ/दुई महिनामै छापिसकिने केन्द्रका अधिकारी बताउँछन् ।

त्यस्तै, सरकारले लाइसेन्स सम्बन्धी कामलाई छिटो, छरितो र डिजिटल बनाउन अब नागरिकै एपबाटै आवदेन दिने व्यवस्था मिलाउन लागेको छ । संचार मन्त्रालयले अब ४५ दिन भित्रै नागरिक एपबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो । त्यसका लागि आवश्यक पूर्वतयारी समेत थालिसकेको छ ।

देशभर ४२ वटा यातायात व्यवस्था कार्यालयहरूले लाइसेन्स सेवा उपलब्ध गराउँदै आएका छन् । देशभरबाट औसतमा दैनिक ५ देखि ६ हजार लाइसेन्सको आवेदन पर्ने गरेको विभागको तथ्यांक छ ।


Back_to_top