काठमाडौं । सरकारले आगामी डेढ महिना भित्रै नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन दिन सक्ने व्यवस्था मिलाउने भएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट), लाइसेन्स लगायतका प्रमुख सरकारी सेवाका लागि एकीकृत आवेदन प्रणाली संचालनमा ल्याउने भएको छ ।
मन्त्रालयले ‘प्रमुख सुधारात्मक कार्यक्रम’ स्वीकृत गर्दै सरकारी सेवाहरूलाई प्रविधिमैत्री, छरितो र झन्झटमुक्त बनाउन यस्तो योजना अघि सारेको हो ।
नागरिक एपलाई सरकारी सेवाको मुख्य केन्द्र बनाउने योजना अनुसार यसअघि नै विभिन्न सेवा उपलब्ध हुँदै आएका छन् । हाल नागरिक एपबाटै पुलिस रिपोर्ट र प्यान नम्बरका लागि आवेदन दिन सक्ने सुविधा छ ।
अब ४५ दिन भित्रै पासपोर्ट र लाइसेन्सको पनि आवेदन दिन मिल्ने बनाउने भएको हो । मन्त्रालयका अनुसार नागरिक एपमा पुलिस रिपोर्ट, राहदानी र लाइसेन्स जस्ता सेवाहरूलाई अन्तरआबद्ध गरी एउटै पोर्टलबाट आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ । त्यसका लागि प्रणालीलाई पूर्ण रूपमा एकीकृत गरिने मन्त्रालयले जनाएको छ ।
एकीकृत आवेदन प्रणालीको सुरूवात भएपछि सेवाग्राहीले आफ्नै मोबाइलबाट सहजै आवेदन दिन सक्नेछन् ।

