ट्रायम्फले एकैपटक ल्यायो ३५० सीसीका ६ नयाँ मोटरसाइकल, मूल्य पनि सस्तो

काठमाडौं । ब्रिटिश मोटरसाइकल ब्राण्ड ट्रायम्फले भारतमा ३५० सीसी सेग्मेन्टमा ६ नयाँ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो ४०० सीसी लाइनअपमा बिक्री भइरहेका सबै मोटरसाइकललाई ३५० सीसी इन्जिन सेग्मेन्टमा बजारमा ल्याएको हो ।

कम्पनीले भारतमा बिक्री हुँदै आइरहेका ट्रायम्फ स्पीड टी फोर, स्पीड ४००, स्क्रयाम्बलर ४०० एक्स, स्क्रयाम्बलर ४०० एक्सी, थ्रक्स्टन ४०० मोडललाई ३५० सीसी इन्जिन सेटअपमा ल्याएको हो । साथै कम्पनीले नयाँ मोडलका रूपमा ट्रेकर ४०० मोटरसाइकललाई समेत ३५० सीसी सेग्मेन्टमै बजारमा ल्याएको छ ।

भारतमा नयाँ कर प्रणाली (जीएसटी) लागू भएसँगै कम्पनीले ४०० सीसीका मोटरसाइकललाई ३५० सीसीमा ल्याएको हो । कम्पनीले बजारमा ल्याएका नयाँ मोटरसाइकलको सुरूआती मूल्य १ लाख ९५ हजार भारु र टप भेरियन्टको २ लाख ९० हजार भारु रहेको छ ।

ट्रायम्फको स्पीड टी फोर सुरुवाती मोडेलको रूपमा कायमै रहेको देखिन्छ । जसको मूल्य पहिलेझैँ १ लाख ९५ हजार रुपैयाँ नै राखिएको छ ।

त्यस्तै, अन्य स्पीड ४००, स्क्रयाम्बलर ४०० एक्स, स्क्रयाम्बलर ४०० एक्सी र थ्रक्स्टन ४०० को भने मूल्य घटेर आएको छ । यी मोडलहरूको मूल्य क्रमशः २ लाख ३१ हजार ८९० रुपैयाँ, २ लाख ५९ हजार २४१ रुपैयाँ, २ लाख ८९ हजार ५३४ रुपैयाँ, २ लाख ६५ हजार ५३८ रुपैयाँ रहेको छ ।

साथै, कम्पनीले नयाँ मोडलका रूपमा पहिलो पटक सार्वजनिक गरेको ट्रेकर ४०० को मूल्य भने २ लाख ४६ हजार २२५ रुपैयाँ तोकेको छ । यी सबै एक्स शोरुम मूल्यमा निर्धारण गरिएको हो ।

बजारमा नयाँ ३५० सीसी इन्जिनमा आएसँगै यी पाँचै नयाँ मोडलको पावर पुरानोको तुलनामा कम भएको छ । यी सबै मोटरसाइकलमा ३४९ सीसीको, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन रहेको छ । जुन विभिन्न ट्युनिङमा उपलब्ध छन्।

स्पीड टी फोरको अधिकतम पावर २९ पीएस र टर्क ३१ एनएम रहेको छ । यो सबैभन्दा सस्तो र कम पावर विकल्प हो । स्पीड ४०० स्क्रयाम्बलर ४०० एक्स र स्क्रयाम्बलर ४०० एक्सीले अधिकतम ३७ पीएस पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ । यी तीन मोडल मिडियम प्रदर्शन रेन्जमा पर्छन । थ्रक्स्टन ४०० र ट्रेकर ४०० भने सबैभन्दा पावरफुल मोडल हुन् । यी दुई मोटरसाइकलले अधिकतम ४० पीएस पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ ।

सबै मोटरसाइकलमा ६ स्पीड गियरबक्ससँगै स्लिप एण्ड असिस्ट क्लच सिस्टम पाउन सकिन्छ । यसका अलावा मोटरसाइकलमा प्रयोग भएका प्राय सबै हार्डवेर र फिचरहरू पुरानो समान रहेका छन् ।

ट्रायम्फले पहिलो पटक बजारमा ल्याएको ट्रेकर ४०० भने रेसिङ ग्राफिक्स नयाँ कलर डिजाइनमा उपलब्ध छ । यी मोटरसाइकलहरूको मोडल नाम पुरानै कायम भएको छ । यसका अलावा ४०० सीसीको मोडलहरू पनि किन्न पाइन्छ ।

नेपाली बजारमा पनि ट्रायम्फ मोटरसाइकल बिक्री भइरहेका छन् । भारतमा बिक्री सुरू भएसँगै ३५० सीसीका मोटरसाइकल चाँडै नेपालमा पनि आउने देखिन्छ ।


Back_to_top