काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले नयाँ इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले सिलायन फाइभ ईभी चीनमा बिक्री सुरू गर्न लागेको हो ।
उसोत सिलायन फाइभ कम्पनीले एक वर्ष अगाडि नै ल्याएको मोडल हो । तर, यसले अन्य मोडलको तुलनामा राम्रो बिक्री पाउन नसकेपछि पूर्णतः नयाँ बनाएर बजारमा ल्याउन लागेको हो ।
कम्पनीले आधिकारिक रूपमा नयाँ सिलायन फाइभको तस्बिर सार्वजनिक गर्दै छिट्टै बिक्री सुरू हुने जानकारी दिएको हो । कम्पनीका अनुसार सिलायन फाइभ डिएम-आई हाइब्रिड र प्योर इलेक्ट्रीक मोडलमा उपलब्ध हुनेछ ।
कम्पनीले चार दिनपछि यसको बिक्री सुरू गर्ने जनाएको छ । अप्रिल २० तारिखबाट बिक्री सुरू हुने सिलायन फाइभलाई युवामैत्री बनाउने कम्पनीको प्रयास देख्न सकिन्छ । अहिले बाहिर आएको ओरेन्ज-रेड कलरले त्यसैलाई संकेत गर्छ ।
बीवाइडीको ग्लोबल सिरिज सिलायनमा आएको कारण चीन बाहिर पनि यसको बिक्री छिट्टै सुरू हुने अनुमान गर्न सकिन्छ । सिलायन फाइभमा सेमी हिडन डोर ह्याण्डल, एडास फिचरलाई थप बलियो बनाउन लाइडारको प्रयोग गरिएको छ ।
पर्फेक्ट साइजमा देखिएको सिलायन फाइभले नेपाली बजारमा दीपल एस-०५ सँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ । साइज पनि सिलायन फाइभ र दिपल एस-०५ को उस्तै छ ।
बीवाइडी सिलायन फाइभको लम्बाइ ४६२० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६३० एमएम छ । यसमा २७७० एमएम लामो ह्वीलबेस प्रदान गरिएको छ ।

क्याबिन भित्र ८.८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ । केही फिजिकल बटन ड्यासबोर्डमा र केही स्टेयरिङ ह्वीलमा प्रदान गरिएको छ । यसका अलावा प्रिमियम सिट, ५० वाटको वायरलेस चार्जर, पानारोमिक सनरुफ, एम्बियन्ट लाइट तथा अगाडिका दुई सिट हिटेड र भ्यान्टिलेटेड पाउन सकिन्छ ।
कम्पनीले यसमा प्रयोग भएको ब्याट्री साइजका विषयमा कुनै जानकारी दिएको छैन । तर, सेकेन्ड जेनेरेशन ब्लेड ब्याट्री भएको कारण ‘फ्ल्यास चार्जिङ सपोर्ट’ गर्ने जनाएको छ । यसको चिनियाँ स्पेकमा २०० र २४० किलोवाट आवरको रियर ह्वील ड्राइभ मोटर रहने छ ।
कम्पनीले ईभी मोडलको मूल्य बाहिर ल्याएको छैन । तर, हाइब्रिड मोडलको मूल्य १३ हजार ९०० अमेरिकी डलरबाटै सुरु भएको कारण ईभीको मूल्य पनि २० हजार अमेरिकी डलरभन्दा तलनै रहने अनुमान गर्न सकिन्छ ।


