काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चेकजाँच तीव्र पारेको छ ।
पछिल्लो २४ घण्टा (वैशाख २ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म) मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा नियम उल्लंघन गर्ने २ हजार ३८८ चालकलाई कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ८० जना मापसे, अवस्था ठीक नभएको ४६, रेड लाइट उल्लंघन गर्ने १९३, तीव्र गति ८९, लेन उल्लंघन १०९, ढोका खुला ५३, नो हर्न ६६, पिक एण्ड ड्रपमा २९ र अन्य नियम मिच्ने १६५३ जना कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेकाहरूलाई कुल २० लाख ४९ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।
बुधबार मात्रै ट्राफिक प्रहरीले सभामुख डोलप्रसाद अर्यालको गाडीलाई समेत चिट काटेको थियो । आगामी दिनमा चेकिङमा झन् कडाइ गरिने प्रहरीको भनाइ छ ।


