१७ लाख लाइसेन्स छाप्न भयो सम्झौता, असार भित्र सबैले पाइसक्ने

काठमाडौं । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच थप १७ लाख थान क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र छपाइ सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

विभाग र केन्द्र बीच दोस्रो चरणमा १७ लाख लाइसेन्स छपाइको सम्झौता भएको हो । यसअघि पहिलो चरणमा गत कात्तिकमा १२ लाख लाइसेन्स छपाइको सम्झौता भएको थियो । तीमध्ये हालसम्म साढे ५ लाख प्रिन्ट भइसकेको छ । बाँकी यही वैशाख १२ गते भित्रै छापिसकिने छ ।

आज भएको सम्झौता अनुसार केन्द्रले आगामी असार मसान्त भित्र १७ लाख लाइसेन्स छापिसक्नुपर्ने विभागका निर्देशक केशव खतिवडाले बताए । विगत ४ वर्षदेखि लाइसेन्स पाउन नसकेका सबै सेवाग्राहीले असार भित्रै लाइसेन्स पाइसक्ने उनले बताए ।

उनका अनुसार केन्द्रसँग यसअघिकै दरमा लाइसेन्स छपाइको सम्झौता भएको हो । सो अनुसार केन्द्रले प्रतिलाइसेन्स २२०.५४ रुपैयाँ (करसहित)मा छाप्नेछ ।

लाइसेन्स छपाइका लागि अर्थ मन्त्रालयले हालै साढे ३७ करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।

हाल देशभरका ४२ वटा यातायात कार्यालयहरूले लाइसेन्स सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् । केन्द्रले छाप्ने क्यूआरकोड सहितको लाइसेन्समा २८ वटा सेक्युरिटी फिचर रहेका छन् । जसमा लाइसेन्सको अगाडिको भागमा २८ वटा फिचर रहने छन् । त्यस्तै, पछाडिको भागमा पनि अगाडि रहेकै १० वटा फिचर छन् ।


Back_to_top