काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा साताको चार उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमले शनिबारदेखि साताको चार उडान सुरु गरेको हो ।
निगमले सार्वजनिक गरेको उडान तालिका अनुसार अब काठमाडौं-गुल्मी साताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने भएको छ ।
यसअघि सातामा आइतबार, मंगलबार र बिहीबार उडान हुँदै आएको थियो । निगमले ट्विनअटर जहाज मर्मत सम्भार गरी संचालनमा ल्याएसँग उडान तालिका थपेको हो ।
निगमले रेसुंगाको भाडादर समेत बढाएको छ । निगमका अनुसार काठमाडौं-रेसुंगा भाडादर १० हजार ९०२ रुपैयाँ तोकिएको छ । रेसुंगाबाट काठमाडौंका निम्ति १० हजार ७०२ रुपैयाँ तोकेको छ ।
यसअघि काठमाडौं-रेसुंगा भाडादर ७ हजार ५०० रुपैयाँ र रेसुंगा-काठमाडौं ७ हजार ३०० रुपैयाँ थियो ।

