शुक्रबार सार्वजनिक हुँदै १० ठूला एसयूभी, ट्रेन्ड नै परिवर्तन हुने

काठमाडौं । आगामी शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा सुरू हुने ‘बेइजिङ अटो शो २०२६’मा ठूला गाडी मुख्य आकर्षण हुने देखिएको छ ।

चीनले अटोमोबाइल क्षेत्रलाई नेतृत्व गर्न थालेसँगै विश्वभरका अटोमोबाइल क्षेत्रमा आबद्ध मानिसहरूको चासो चिनियाँ अटो शोमा बढ्दै गएको छ ।

चीनको ठूला सहरहरूमा एकपछि अर्को अटो शो वर्षभर नै संचालन हुन्छन् । तर, बेइजिङ र संघाईमा आयोजना हुने अटो शो विश्वभर चर्चा हुन थालेको छ । यी दुई सहरमा पालैसँग एक/एक वर्षको अन्तरालमा अटो शो हुँदै आएको छ ।

न्यू इनर्जी भेहिकलमा चीनले नेतृत्व गर्न थालेको र यहाँका स्टार्टअप कम्पनीदेखि पुराना गाडी निर्माताहरू आक्रमक रूपमा लागेका कारण विश्वको ध्यान खिच्न सफल भएको हो । यही साताको अन्तिम दिन सुरू हुने अटो शोमा यसपटक साना र मझौला एसयूभीभन्दा पनि ठूला र मस्कुलर गाडीले विशेष स्थान पाउने देखिन्छ ।

अहिलेसम्म बजारमा आउन सक्ने सम्भावित मोडलका रूपमा हेरिएका ठूला एसयूभी यस प्रकार छन् ।

१. नियो ‘ईएस नाइन’ :  नियोले अटो शोमा देखाउने ईएस नाइन मोडलको लम्बाइ ५३६५ एमएम, चौडाइ २०२९ एमएम, उचाइ १८७० एमएम र ह्वीलबेस ३२५० एमएम लामो रहने छ । यो एसयूभीमा २३ इन्चको ह्वील प्रयोग हुनेछ ।

९०० भोल्ट आर्किटेक्चरमा बन्ने यो एसयूभीमा १०२ किलोवाट आवरको टर्नरी एनसीएम ब्याट्री उपलब्ध हुनेछ । यसको मूल्य ६१ हजार ४४० अमेरिकी डरलदेखि सुरू हुने बताइएको छ ।

२. ली अटो ‘एल नाइन’ :  ठूला एसयूभीको भिडमा थपिने अर्को मोडल ली अटोको एल नाइन एसयूभी हो । ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो ठूलो एसयूभीको मूल्य ८० हजार ६८५ अमेरिकी डलरसम्म पर्नेछ ।

एल नाइन एसयूभी पनि ५३०० एमएम माथिको साइजमा उपलब्ध हुनेछ । साथै, २२ इन्चको ह्वील रहेको एसयूभीमा हाइटेक प्रविधि युक्त फिचरहरू रहनेछन् ।

३. फक्सवागेनका ठूला ईभी : जर्मन कार उत्पादकले बेइजिङ अटो शोमा फक्सवागेन आइडी नाइन र आइडी एट सार्वजनिक गर्नेछ । यी दुवै एसयूभी साइजमा ठूला हुनेछन् । मूल्यका हिसाबले पनि महँगा हुने बताइएको छ ।

४.अउडी ‘ई सेभेन एक्स’ :  साओमीको वाइयु सेभेनसँग प्रतिस्पर्धा गर्नेगरी अउडीले ई सेभेन एक्स मोडल बजारमा उतार्नेछ । ५०४९ एमएम लामो एसयूभीमा ३०६० एमएम लामो ह्वीलबेस उपलब्ध हुनेछ । यसमा २२ इन्चको ह्वील र १०९.३ किलोवाट आवरको ठूलो ब्याट्री रहनेछ ।

५. आइटो ‘एम नाइन’ :  फुल साइज एसयूभी रोज्नेको लागि बेइजिङ अटो शोमा आइटो एम नाइन पनि आकर्षक मोडल बन्ने देखिन्छ । ५.२ मिटर लामो एसयूभीमा ३११० एमएम लामो ह्वीलबेस दिइएको छ ।

प्योर ईभी र ईआरईभी हाइब्रिडमा उपलब्ध हुने एम नाइनले अवलोकनकर्तालाई तान्ने अनुमान गरिएको छ ।

६.  लीपमोटर डी-१९ : ठूलो एसयूभीको भिडमा ५.२ मिटर लामो डी-१९ बेइजिङ अटो शोमा अर्को आकर्षक मोडल बन्ने देखिन्छ । प्योर ईभी र ईआरईभी दुई अप्सनमा उपलब्ध हुने डी-१९ को सुरूवाती मूल्य ३२ हजार २४० अमेरिकी डलर रहनेछ ।

७. एक्सपेङ जीएक्स : करिब ५८ हजार अमेरिकी डलर मूल्य राखेर बिक्री सुरू हुने अनुमान गरिएको एक्सपेङ जीएक्स पनि ठूलो एसयूभी हो । यसको लम्बाइ ५.२ मिटर छ । यसमा ३११५ एमएम लामो ह्वीलबेस छ ।

एक्सपेङले जीएक्सलाई प्योर ईभी र ईआरईभी हाइब्रिडमा ल्याउने छ । यसको पनि धेरै टेक्नीकल डिटेलहरू बाहिर आउन बाँकी नै छ ।

८. बीवाइडी ग्रेट टाङ र सिलायन-८ : बीवाइडीले दुई ठूला मोडल अटो शोमा देखाउँदैछ । उसले ग्रेट टाङ र सिलायन-८ मोडललाई एक साथ देखाउन लागेको हो ।

डिजाइनमा फरक रहे पनि यी दुवै फुलसाइज एसयूभी हुन् । ग्रेड चाङ मोडलमा १३०.१५ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा मोटर भने ५८५ किलोवाटसम्मको पाउन सकिन्छ ।

९. जिकर ‘८-एक्स’ : जिकर ८ एक्स प्योर ईभी र प्लगइन हाइब्रिडमा आउने छ । यसलाई कम्पनीले ९०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । २.९६ सेकेण्डमै शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्ने जिकर ८ एक्समा १०३० किलोवाटको अल ह्वील ड्राइभ मोटर छ ।

१०. आइएम एलएस-८ : मूल्यका हिसाबले ३६ हजार ६०० अमेरिकी डलरबाटै सुरू हुने एलएस-८ पनि फुल साइज एसयूभी हो । ८०० भोल्ट आर्किटेक्चरमा नै तयार भइरहेको एलएस-८ हाइब्रिड मोडल हो ।

एलएस ८ को लम्बाइ ५०८५ एमएम छ भने ह्वीलबेस ३०६० एमएम लामो छ । २२ इन्चसम्मको ह्वील प्रयोग भएको एसयूभी टेक फिचर लोडेड हुनेछ ।


Back_to_top